Type Here to Get Search Results !

विश्वकप छनोटः लगातार दोस्रो जितका साथ नेपाल सेमिफाइनलमा

 टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटकाे सहज जित हात पारेको छ । १६६ रनको लक्ष्य पाएको नेपालले ४ विकेटको क्षतिमा १८ ओभरमै लक्ष्य प्राप्त गर्‍यो । 



नेपालको जितमा दुवै कुशलले ब्याटिङबाट योगदान दिँदा बलिङमा अभिनाश बोहोराले महत्त्वपूर्ण योगदान दिए । मल्लले विस्फोटक अन्दाजमा अर्धशतक बनाए । उनले ३४ बलमा ६५ रन बनाए । उनले सात छक्का प्रहार गरेका थिए ।

यस्तै, ओपनर कुशल भुर्तेल २५ बलमा  ४३ रन बनाएर आउट भए । उनले चार चौका र चार छक्का प्रहार गरे ।  यस्तै अर्का ओपनर आसिफ शेखले २३ बलमा ३२ रन बनाए । 

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन बनाएको थियो  ।

यसअघि विशाल स्कोरतर्फ लम्किरहेको मलेसियालाई नेपालका अभिनाश बोहोराले रोके । उनले आफ्नो चार ओभरको बलिङमा २७ रन दिएर ४ विकेट लिए । मलेसियाका लागि ओपनर सिद अजिजले सर्वाधिक ४९ बलमा ६८ रन बनाए । यस्तै जुवैदी जुल्फिकले १६ बलमा २४ रनको योगदान दिए । 

नेपालका लागि सन्दीप लामिछाने, रोहित पौडेल र गुल्सन झाले एक एक विकेट लिँदा सोमपाल कामी र करण केसी विकेटविहीन बने । नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई पराजित गरेको थियो ।

लगातार दोस्रो जित निकालेको नेपाल सेमिफाइनलमा पुगेको छ । समूह चरणमा अब नेपालले अन्तिम खेल ओमानसँग खेल्नेछ । अन्तिम खेलले समूह विजेता र उपविजेताकाे टु‌ंगाे लाग्नेछ । यो समूहमा ओमानले पनि दुई खेल जितिसकेको छ । समूहबाट शीर्ष दुई टिम सेमिफाइनल पुग्ने छन् । फाइनलमा पुग्ने दुई टिम यसै वर्ष अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने टी २० विश्वकपमा छनोट हुनेछन् । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today