Type Here to Get Search Results !

भारतको योजना : २०४० सम्म चन्द्रमामा मान्छे पठाउने, २०३५ सम्म आफ्नै अन्तरिक्ष स्टेशन

 भारतको महत्वाकांक्षी गगनयान अन्तरिक्ष मिसनको प्रगति तथा अवस्थाका विषयमा जानकारी लिन हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष एजेन्सी इसरोका वैज्ञानिकहरुसँग एउटा उच्चस्तरीय समीक्षा बैठक राखेका छन् ।

उक्त बैठकका क्रममा इसरोले गगनयान अन्तरिक्ष मिसन सही ढंगले अघि बढिरहेको भन्दै मोदीलाई विश्वस्त बनाउने कोसिस गरेको छ । भारतीय अन्तरीक्ष विभागले प्रधानमन्त्री मोदीसामु गगनयान मिसनको विस्तृत विवरण प्रस्तुत गर्‍यो । साथै उसले भविष्यका परियोजना तथा मिसनका बारेमा पनि बताएको छ, जसमध्ये दुईवटा विषय निकै चाखलाग्दा छन् ।

पहिलो : सन् २०३५ सम्म भारतमा आफ्नो अन्तरिक्ष स्टेशन बनाउनेछ

दोस्रो : सन् २०४० सम्म चन्द्रमामा पहिलो भारतीय अन्तरिक्षयात्री पुग्नेछन्

साथै इसरोले गगनयान मिसनका लागि आवश्यक पर्ने रकेटको निर्माण भैरहेको पनि जनाएको छ । यो एउटा ह्युमन रेटेड लञ्च भेहिकल हो । अब यो रकेटको आगामी तीनवटा मानव रहित उडानका क्रममा २० भन्दा धेरै मुख्य परीक्षण हुनेछन् ।

एचएलभीएमथ्री रकेटका माध्यमबाटै भारतीय वायुसेनाका पाइलटलाई अन्तरिक्षयात्री बनाएर अन्तरिक्षमा पठाइनेछ ।

इसको पहिलो परीक्षण उडान यही अक्टोबर २१ मा हुनेछ । गगनयान मिसनको अन्तिम प्रक्षेपण भने सन् २०२५ मा हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३५ सम्ममा भारतीय अन्तरिक्ष स्टेशन निर्माण गर्न इसरोलाई निर्देशन दिएका छन् । साथै सन् २०४० सम्म भारतीय अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउनका लागि तयार पार्न पनि उनले निर्देशन दिए ।

चन्द्रयान थ्री तथा आदित्य एल १ मिसनको सफलतासँगै प्रधानमन्त्री मोदी इसरोसँग खुसी छन् । मोदीको निर्देशन पश्चात् भारतीय अन्तरिक्ष विभागले चन्द्रमामा अनुसन्धान गर्नका लागि योजना तयार गरेर पेस गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

चन्द्रमामा मानिसलाई पठाउनका लागि इसरोलाई नेक्स्ट जेनेरेसन लन्च भेहिकल आवश्यक पर्नेछ । त्यसका लागि नयाँ लन्च प्याड बनाउनुपर्नेछ । मानवीय सुरक्षालाई ध्यानमा राख्दै नयाँ प्रयोगशाला पनि बनाउनुका साथै नयाँ प्रविधिको विकास पनि गर्नुपर्नेछ ।

इसरोले आफूले हाल शुक्रयान तथा मंगलयान मिसनमा पनि काम गरिरहेको जानकारी मोदीलाई दिएको छ । अहिले मंगल ग्रहमा ल्याण्डर अवतरण गराउने तयारीमा इसरो रहेको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today