सोमबार दिनदहाडै बाराको कलैया उपमहानगर ६ स्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३९ वर्षीय रुपेश स्वर्णकारको गोली हानेर हत्या भयो । सोमबार मध्याह्न घर नजिकैको होटेलबाट चाउमिन बोकेर फर्किंदै गर्दा स्कुल नजिकै उनीमाथि चारजनाको समूहमा आएका अज्ञात हतियारधारी समूहले गोली प्रहार गरेका थिए ।
शरीरमा चार राउण्ड गोली लागेर गम्भीर घाइते स्वर्णकारलाई सुरुमा प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्जस्थित वयोधा अस्पताल रेफर गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ
। उनको टाउको तथा छातीमा गोली लागेको प्रहरीले जनाएको छ । चारजनाको समूहमा दुईवटा मोटरसाइकलमा भएका अपराधीहरु दक्षिणतिर भागेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
हत्यामा संलग्न आरोपमा प्रहरीले सो विद्यालयमा पढाउने पूर्व शिक्षिकासहित ६ जनालाई पक्राउ गरेको छ । जसमा तीनजना भारतीयसमेत रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराज न्यौपाने बताउँछन् ।
बारा जिल्लामा पछिल्लो समय हत्या घटना बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा मात्र मधेश प्रदेशका आठवटा जिल्लामध्ये बारामा सबैभन्दा बढी ८ हत्याका घटना भएका छन् । हत्यामा सम्बन्ध र आर्थिक कारण प्रमुख देखिएको बाराका प्रहरी प्रमुख सुरेश काफ्ले बताउँछन् ।
पछिल्ला जति पनि हत्याको घटना भएको छ । प्रायमा सम्बन्ध र आर्थिक कारण प्रमुख देखिएको छ’ एसपी काफ्लेले अनलाइनखबरसँग भने ।

