Type Here to Get Search Results !

बंगलादेशमाथि नेदरल्यान्ड्सको सानदार जित

 नेदरल्यान्ड्सले आइसिसी विश्वकप २०२३ मा बंगलादेशमाथि ८७ रनको सानदार जित हात पारेको छ । जारी विश्वकपमा यसअघि नेदरल्यान्ड्सले उपाधि दाबेदार दक्षिण अफ्रिकालाई स्तब्ध पारेको थियो ।



जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४२.२ ओभरमा १ सय ४२ रनमा अल आउट भयो । बंगलादेशका मेहेदी हसन मिराजले ४० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

स्पिनर अर्यान दत्तको बलमा ओपनर लिटन दास ३ रनमा विकेटकिपर स्कट एडवार्ड्सबाट क्याच आउट भए । त्यसपछि नेदरल्यान्ड्सका तीव्र गतिका बलरले बंगलादेशलाई दयनीय अवस्थामा पुर्याएका थिए । तीव्र गतिका बलर लोगन भान बिकको छैटौं ओभरको दोस्रो बलमा ओपनर तानजिद हसन १५ रनमा एडवार्ड्सबाट नै क्याच आउट भए ।

तीव्र गतिका बलर पल भान मिकरेनले नाज्मुल हसन सान्टोलाई ९ रनमा एक एण्ड बोल्ड आउट गर्दा बंगलादेश ११.५ ओभरमा ४५-३ को अवस्थामा थियो । मिकरेन सकिब अल हसनलाई एडवार्ड्सबाट ५ रनमा क्याच आउट गरे । मुश्फिकुर रहिम १ रनमा मिकरेनको बलमा बोल्ड भए ।

इन स्वींग बल चाल नपाउँदा बंगलादेशका सर्वाधिक भरपर्दा ब्याटर मुश्फिकुर बोल्ड भएपछि १७.४ ओभरमा ७०-६ को दयनीय अवस्थामा पुगेको थियो ।

मेहेदी हसन एक रन लिनेक्रममा नन स्ट्राइकमा १७ रनमा रन आउट भए । बास डि लिडको उत्कृष्ट डाइरेक्ट थ्रोमा उनी पेभेलिएन फर्किनु परेको थियो । लिडको ३३ औं ओभरको दोस्रो बलमा महमुदूल्लाह रियाद मिडविकेटमा २० रनमा दत्तबाट क्याच आउट भएपछि बंगलादेश हार नजिक पुगेको थियो ।

तल्लोक्रममा मुश्ताफिजुर रहमान २० र तस्किन अहमदले ११ रन बनाए । डच टोलीका पाउल भान मीरर्केनले ७.२ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । बास डि लिडले ७ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । अर्यान दत्त, लोगन भान बिक र कोलिन एकरम्यानले एक एक विकेट लिए ।

त्यसअघि इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्स ५० ओभरमा २ सय २९ रनमा अल आउट भएको थियो । कोलकाताको उक्त पिचमा नेदरल्यान्ड्सका बलरलाई उक्त योगफल जितको लागि पर्याप्त भयो ।

नेदरल्यान्ड्सका जितमा कप्तान स्कट एडवार्ड्सले ८९ बलमा ६ चौकासहित सर्वाधिक ६८ रन बनाए । वेस्ली ब्यारेसीले ४१ बलमा ८ चौकासहित ४१ रन बनाए । नेदरल्यान्ड्सले ओपनर विक्रमजित सिंह ३ र म्याक्स ओडाउड शून्यमा गुमाएको थियो ।

मध्यक्रमका प्रमुख ब्याटर कोलिन एकरम्यानलाई सकिब अल हसनले १५ रना मुश्ताफिजुर रहमानबाट क्याच आउट गराए । प्रमुख अलराउन्डर बास डि लिड ३२ बलमा २ चौकासहित १७ रन बनाउँदै क्याच आउट भए ।

स्याइब्रान्ड एंगेलब्रेक्ट ६१ बलमा ३ चौकासहित ३५ रनमा मेहेदी हसन मिराजको बलमा एलबीडब्लू आउट भए । छैटौं विकेटका लागि स्कट र एंगेलब्रेक्टले १ सय ५ बलमा ७८ रनको साझेदारी गरेका थिए । तल्लोक्रममा तीव्र गतिका बलर लोगन भान बिक १६ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे ।

बंगलादेशका शोरिफुल इस्लाम, तस्किन अहमद, मेहेदी हसन र मुश्ताफिजुर रहमानले समान दुई विकेट लिएका थिए । नेदरल्यान्ड्सले यसअघि दक्षिण अफ्रिकालाई ३८ रनले हराएको थियो । नेदरल्यान्ड्स ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ आठौं स्थानमा छ ।

नेदरल्यान्ड्सले अव अफगानिस्तान, इंग्ल्यान्ड र भारतसँग खेल्न बाँकी छ । बंगलादेश ६ खेलमा ५ मा हार र १ मा जितसहित नवौं स्थानमा छ । बंगलादेशले अव पाकिस्तान, श्रीलंका र अष्टेलियासँग खेल्न बाँकी छ ।

दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । समान ६ खेलमा ८-८ अंक भएपनि नेटरनरेटको कारण न्युजिल्यान्ड तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today