Type Here to Get Search Results !

वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकको सङ्ख्या बढ्दै, पौने आठ लाख बिदेसिँदा पाँच लाखभन्दा धेरै दक्ष

 वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकको सङ्ख्या बढ्दै गएको छ ।



गएको आर्थिक वर्ष २०७९/०८० मा पौने आठ लाख नेपाली श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिँदा पाँच लाखभन्दा धेरैले दक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

गएको आर्थिक वर्ष २०७९ साउनदेखि २०८० असार मसान्तसम्म वैदेशिक रोजगारीमा जान सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिँदा पाँच लाख ६७ हजार ४६ जनाले दक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएका छन् ।

दक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिनेमा ४३ हजार ५४२ जना महिला रहेका छन् भने गएको आर्थिक वर्ष ७२ हजारभन्दा धेरै महिलाहरू श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

दक्ष श्रमिकको रूपमा वैदेशिक रोजगारीमा जानेको यो सङ्ख्या अघिल्ला वर्षहरूको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीमा जान छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिँदा दुई लाख ९१ हजार ८८९ जनाले दक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएका थिए । 

यस्तै गएको आर्थिक वर्ष २०७९/०८० मा  दुई लाख २६ हजार १६ जना अदक्ष श्रमिक विदेश गएका छन् भने ६० हजार पाँच सय ५५ जना अर्ध दक्ष श्रमिकहरू विदेश गएका छन् । एक हजार एक सय ५३ जना व्यावसायिक र दुई सय ५७ जना उच्च सीप भएका व्यक्तिहरू श्रम स्वीकृति लिएर विदेश गएका छन् । 

आर्थिक वर्ष २०७७/२०७८ मा भने अर्ध दक्ष श्रमिकको सङ्ख्या धेरै रहेको थियो । यो आर्थिक वर्ष एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिँदा एक लाख ५५ हजार ८३ जना अर्ध दक्ष र ८० हजार ३८२ जना अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका थिए ।

दक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिने श्रमिकको सङ्ख्या ७० हजार ४२६ थियो ।

बिस्तारै अदक्ष श्रमिकको रूपमा जानेहरूको सङ्ख्या घटेको छ भने दक्ष श्रमिकको रूपमा जानेहरू बढेको विभागले श्रम स्वीकृति दिएको तथ्याङ्कले देखाउँछ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today