प्रहरी सहायक निरीक्षक राजेश्वर महतोले पत्रकार तथा मानवअधिकारकर्मी मनोहर पोखरेललाई जिल्ला प्रहरी कार्यालय राजविराजको परिसरमा कुटपिट गरेका छन् । समाचार संकलनका क्रममा आवश्यक सूचना लिन सोमबार जिल्ला प्रहरी कार्यालय पुगेका बेला आफूमाथि महतोले निर्घात कुटपिट गरेको अन्नपूर्ण पोस्टका सप्तरी संवाददाता पोखरेलले बताए ।
समाचारका लागि चाहिने आवश्यक सूचना दिन नमानेपछि परेको विवादमा एक्कासी असई महतोले कुटपिट गर्दा शरीरको संवेदनशील अंग तथा अनुहारमा चोटपटक लागेको उनले बताए । कुटपिटबाट घाइते पोखरेलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
पत्रकार पोखरेलले तथ्यांक माग गर्दा उनले फुर्सद छैन भन्दै विवाद गरेको र अपशब्द बोल्दै कुटपिट गर्न थालेको प्रत्यक्षदर्शीहरुले बताएका छ्न् । घटनालगत्तै नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सचिव रामनारायण विश्वास नेतृत्वको टोलीले कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीसँग भेटेर यस विषयमा छलफल गरेको छ । छलफलका क्रममा प्रहरी उपरीक्षक कार्कीले तीन दिनभित्र आरोपित असईलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको विश्वासले जानकारी दिए ।
मुस्कानसहितको सेवा दिने नेपाल प्रहरीबाट समाचार संकलनका क्रममा रहेका पत्रकारमाथि कुटपिट हुनु दुर्भाग्यपूर्ण भएको महासंघ सप्तरीले जनाएको छ ।यता घटनाबारे जानकारी पाएपछि प्रेस चौतारी नेपाल शाखा सप्तरीले दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । प्रेस चौतारी शाखा सप्तरीका अध्यक्ष डम्बर राईले सप्तरी प्रहरीबाट भएको निन्दनीय कार्यको भर्त्सना गरेका छ्न् ।
यसअघि आइतबार सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पत्रकार मनोज माझीलाई दुर्व्यवहार गरेको सार्वजनिक भएको थियो । उक्त दुर्व्यवहारको सम्बन्धमा सोमबार उनले माझीसँग माफी पनि मागेका छ्न् ।
पोखरेल सप्तरीलाई कार्यक्षेत्र बनाएर विगत ३ दशकदेखि पत्रकारिता गर्दै आएका छन् । प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय उपाध्यक्ष भइसकेका उनी नेपाल पत्रकार महासंघ सप्तरीका वर्तमान सल्लाहकार सदस्य हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीका प्रतिनिधिसमेत रहेका पोखरेल मानवअधिकारको क्षेत्रमा क्रियाशील रहेका छन् ।