पाकिस्तानमा एक इस्लामिक राजनीतिक दलले आयोजना गरेको र्यालीमा भएको विस्फोटमा परेर कम्तीमा ४४ जनाको मृत्यु भएको छ। जमीयत उलेमा–ए–इस्लाम–फज्ल (जेयूआई–एफ) को बैठक बसिरहेको उत्तर–पश्चिम बाजौर जिल्लामा भएको विस्फोटमा एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।
प्रहरीले दिएको जानकारीअनुसार उक्त विस्फोट आत्मघाती हमला भएको प्रमाण फेला परेको छ। अधिकारीहरूका अनुसार उद्धार कार्य पूरा भएको छ र सबै घाइतेलाई अस्पताल लगिएको छ।
अधिकारीहरूले १५ जना घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। आक्रमणको कारण भने खुल्न सकेको छैन। सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् र विस्फोटको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तूनख्वा प्रान्तको पाकिस्तानी आदिवासी जिल्ला बाजौरको खार सहरमा आइतबार आयोजित जेयूआई–एफ कार्यकर्ताहरूको सम्मेलनमा सयौँ मानिस उपस्थित थिए।
सार्वजनिक भएका तस्बिरहरूमा कार्यक्रम स्थलको मञ्च नजिकै विस्फोट हुँदा सयौँ मानिस पालको तल जम्मा भएको देखिन्छ। एक प्रत्यक्षदर्शीका अनुसार उक्त पाल ढल्दा त्यहाँबाट भाग्न खोजिरहेका मानिसहरू थिचिएका थिए। स्थानीय टिभीमा प्रसारित सामग्रीहरूमा घाइतेहरूलाई एम्बुलेन्समार्फत् अस्पताल पुर्याइरहेको देख्न सकिन्छ।
गम्भीर घाइते भएकाहरूलाई भने उपचारका लागि सेनाको हेलिकप्टरमार्फत तत्काल नजिकैको पेशावर लगिएको प्रहरीले पुष्टि गरेको छ ।