Type Here to Get Search Results !

संघीयताले पहुँच र प्रतिनिधित्वलाई सुनिश्चित गर्‍यो : मन्त्री राजकुमार लेखी

 

गाेपाल झा
जलेश्वर, पुस २७ गते ।
मधेश प्रदेशका गृह, सञ्चार र कानुनमन्त्री राजकुमार लेखीले संघीयताले देशका विभिन्न समुदायलाई पहुँच र प्रतिनिधित्वको अवसर प्रदान गरेको बताएका छन् । महोत्तरी जिल्लाको जलेश्वरमा आमसञ्चार प्राधिकरण मधेश प्रदेशले आयोजना गरेको साइबर सुरक्षा र एआइ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि को रूपमा बोल्दै मन्त्री लेखीले संघीयताले देशभरका नागरिकलाई आवश्यक सेवाहरू आफ्‌नो गाउँठाउँबाट प्राप्त गर्न सक्ने अवसर प्रदान गरेको उल्लेख गरे।

मन्त्री लेखीले १५ वर्ष अगाडि देशका विभिन्न समुदायहरूको पहुँच र प्रतिनिधित्व सीमित रहेको अवस्थामा संघीयताले यी समस्यालाई समाधान गरेको बताउँदै, विशेषगरी दोस्रो र तेस्रो दर्जाका नागरिकलाई समुचित अधिकार र अवसर प्राप्त भएकोमा गर्व व्यक्त गरे। उनले संघीयताले नेपालका विभिन्न समुदायहरूको सामाजिक र राजनीतिक जीवनमा महत्वपूर्ण सुधार ल्याएको बताए।

कार्यक्रममा मन्त्री लेखीले पत्रकारिता क्षेत्रमा पनि सुधार आवश्यक रहेको भन्दै सकारात्मक समाचार र सूचनामा बढी ध्यान दिन पत्रकारहरूलाई आग्रह गरे। उनले पत्रकारहरूको स्वास्थ्य र दुर्घटनामा राहतका लागि आफैं पहल गरेको जानकारी पनि दिए।

मन्त्री लेखीले मधेश प्रदेश सरकारको विभिन्न सामाजिक योजनाहरू, जस्तै ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरिएका पहलहरूको पनि विवरण प्रस्तुत गरे।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुंदर यादवले पत्रकारिता क्षेत्रमा अध्ययन र अनुसन्धानका लागि छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरे। यस अवसरमा मधेश प्रदेशका सक्रिय पत्रकारहरूका लागि स्वास्थ्य र दुर्घटना राहत योजनाहरूको पनि जानकारी दिइएको थियो।

कार्यक्रममा प्रदेशसभा सदस्य सुरतिा कुमारी साहले साइबर सुरक्षा र एआइको महत्वको बारेमा बोल्दै, पत्रकारहरूले समयको माग अनुसार आफूलाई अपडेट गर्नुपर्ने आवश्यकता औंल्याइन्।

कार्यक्रममा पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश दास, प्रेस युनियनका सदस्य संतोष सिंह लगायत अन्य पत्रकारहरूले पनि आफ्ना विचार व्यक्त गरे ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today