Type Here to Get Search Results !

मैथिली संस्कृतिको उजागर गर्न पतैली सांस्कृतिक महोत्सव हुने

 

महोत्तरी - मैथिली संस्कृतिको उजागर गर्न महोत्तरीमा पतैली सांस्कृतिक महोत्सव को आयोजना हुने भएको छ। महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५, पतैली ब्रह्म स्थान वाटिका मा कार्तिक २० गते पतैली सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ। पतैली युवा समाजको आयोजनामा यो महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष राजेश कुमार राई (राजु)ले बतानु भएको छ ।

उनले यस सांस्कृतिक महोत्सवको मुख्य उद्देश्य शुद्ध मैथिली लोकसंस्कृतिलाई जोगाउनु र समाजमा फैलँदै गएको अश्लीलता रहित स्वस्थ मनोरञ्जनको माध्यममार्फत समाजलाई सन्देश दिनु रहेको बताउनुभयाे । गत वर्ष पनि यो महोत्सवको आयोजना गरिएको थियो, जसले समाजमा निकै सकारात्मक प्रभाव छोडेको थियो। स्थानीयवासी, संस्कृति प्रेमी तथा राष्ट्रिय स्तरका कलाकारहरूको सहभागीले महोत्सवलाई अत्यन्तै भव्य बनाएको थियो।

यही कारणले गर्दा यो वर्षको महोत्सवलाई अझै व्यापक बनाउने योजना गरिएको छ। आयोजकहरूको भनाइ अनुसार, यस पटकको महोत्सवमा भाग लिने कलाकारहरूको संख्यामा वृद्धि गरिनेछ, जसले महोत्सवलाई झन् आकर्षक बनाउनेछ। यस सांस्कृतिक महोत्सवमा जनकपुरको प्रतिष्ठित संस्था, मिथिला नाट्य कला परिषद् (मिनाप) सँग आबद्ध कलाकारहरूले सहभागिता जनाउनेछन्। यी कलाकारहरूले मैथिली संगीत र नृत्य प्रस्तुतिका माध्यमबाट मैथिली संस्कृति र परम्परालाई जीवित राख्नका लागि महत्त्वपूर्ण योगदान दिनेछन्।

यसपटकको महोत्सवमा लोक मैथिली गायक ललित कामत, लोक गायिका कंचन पाण्डे तथा मिथिला क्षेत्रका लोकपि्रय हास्य कलाकार राम नारायण ठाकुरको विशेष प्रस्तुति रहनेछ। कलाकारहरूको प्रस्तुति बाट महोत्सवमा आउने दर्शकहरूले विशुद्ध मैथिली लोक संस्कृति र परम्पराको सजीव अनुभव लिन पाउनेछन्।

महोत्सवको तयारी लगभग पूरा भइसकेको र आयोजकहरूले दर्शकहरूको मनोरञ्जन तथा सुरक्षाका लागि विशेष व्यवस्था गरेको जानकारी दिएका छन्। साथै, अश्लीलता निरुत्साहित गर्ने उद्देश्यका साथ सम्पूर्ण कार्यक्रमलाई सांस्कृतिक र सन्देशमूलक बनाउन विशेष ध्यान दिइएको छ। आयोजकहरूको विश्वास छ कि यस महोत्सवले पुरानो मैथिली लोकसंस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने मात्र होइन, अश्लीलता रहित सांस्कृतिक गतिविधिहरूको महत्त्वलाई पनि उजागर गर्नेछ। यस महोत्सवमा बालबालिका, युवा तथा वृद्ध सबै उमेरका दर्शकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today