राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले राजनीतिक लाभका लागि हचुवामा विकास आयोजना घोषणा गर्ने र आधारविना लगानी गर्ने प्रवृत्ति अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।
पछिल्लो समयको विकासको क्रम हेर्दा विनाआधारका पूर्वाधारमा राज्यले सबैभन्दा बढी लगानी गरिरहेको भन्दै सांसद डाँगीले त्यसको असर समग्र विकासमा परेको बताइन्।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद डाँगीले भनिन्, ‘एकातर्फ विनाआधारका पूर्वाधारमा लगानी गरेर राज्यको अर्बौँ रुपैयाँ खेर गएको छ । अर्कातर्फ अत्यावश्यक र आधारभूत पूर्वाधारको अभावमा जनताले दुःख पाइरहेका छन् । पर्याप्त र सुरक्षित सडक पूर्वाधारको अभावमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । राष्ट्रिय गौरवका आयोजना दशकौँदेखि निर्माण सम्पन्न हुन नसकेर अलपत्र अवस्थामा छन्।’
स्रोतको सुनिश्चितता नगरी राजनीतिक लाभ र हानि हिसाब गरेर नामका लागि राष्ट्रिय गौरव घोषणा गरिदिँदा जनमानसमा समग्र विकासप्रति नै अविश्वास र नकारात्मकता सिर्जना हुन थालेको उनको भनाइ थियो।
त्यसैले, सरकारले आधारविनाका पूर्वाधारमा लगानी गर्न बन्द गर्नुपर्ने डाँगीले माग गरिन्। ‘अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजना घोषणा नगरियोस्,’ उनले भनिन्, ‘राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री वा मन्त्रीको व्यक्तिगत इच्छा र चाहनामा नभई एउटा कंक्रिट मापदण्डका आधारमा छनाेट गरियोस्।’
स्रोतको सुनिश्चितताविना पूर्वाधारमा आंशिक लगानी गर्नु नागरिकलाई धोका दिनु हो भन्दै उनले यो प्रवृत्ति यसै वर्षबाट सुधार गर्न माग गरिन्।

