महोत्तरीस्थित जलेश्वर नगरपालिका– ३ मलिवारास्थित मुख्य नाकाको रूपमा रहेको जलेश्वर भन्सार कार्यालयले जानकी मन्दिरको झल्को देखिने प्रवेशद्वार बनाएको छ।
कुल एक करोड अठासी लाख तेतीस हजार रुपयाँमा दुई चरणमा बनेको सो द्वार निर्माण सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा रहेको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलले जानकारी दिए।
उनका अनुसार बिल भुक्तानीपश्चात् भन्सार कार्यालयले निर्माण कम्पनीबाट गेट आधिकारिक रूपमा आफ्नो अधीनमा आएपछि गेटको नामकरण तथा उद्घाटन मितिबारे तय हुनेछ।
यता द्वारको प्राविधिक निरीक्षणको जिम्मा पाएको संघीय आयोजना कार्यान्वयन एकाइ, धनुषाका साइट इन्जिनियर श्रवणकुमार यादवले द्वार जनकपुरस्थित जानकी मन्दिरलाई परिकल्पना गरी निर्माण गरिएको बताए।
उनले निर्माणको पहिलो चरणको जिम्मा ड्रागन–अत्रेया जेभी र दोस्रो चरणको निर्माणको काम आरपिएस–आरएस जेभीले पाएको बताउँदै पहिलो चरणमा स्ट्रक्चर निर्माण भएको र दोस्रो चरणमा बुट्टा भर्ने, रंगरोगन तथा बिजुली बत्तीको काम भएको बताए। उनले बगैँचा र मिथिला चित्रकला बनाउने योजनासमेत रहेको थपे।
आर्थिक वर्ष ०७६/७७ मा तत्कालीन भन्सार प्रमुख केशव भण्डारीले भन्सारको स्तराेन्नतिको कार्य अगाडि बढाउँदै भन्सारमा विभिन्न भवन निर्माण तथा अन्य विकासका कामसँगै द्वार निर्माणको परिकल्पना गर्दै कार्य अघि बढाएका थिए।
द्वारको पहिलो चरणको निर्माण कार्य उनकै पालामा सम्पन्न भएकोमा दोस्रोचरण भने वर्तमान भन्सार प्रमुख अमित पौडेलको विशेष रेखदेख तथा निर्देशनमा सम्पन्न भएको हो।

