
राकेश प्रसाद चौधरी
जलेश्वर, ७ जेठ
मधेश प्रदेशको जलेश्वर नगरपालिका क्षेत्रमा बसोबास गर्ने २९ प्रतिशत युवाको मात्रै स्थानीय तहको सूचनामा पहुँच देखिएको छ ।
अकाउन्टाविलिटी ल्याव नेपालले जलेश्वरमा गरेको अन्तरक्रिया कार्यक्रममा सर्वेक्षण नतिजा सार्वजनिक गरिएको छ । अन्य प्रदेशको पालिकाहरूमा ५० प्रतिशतभन्दा बढी युवाको पहुँच स्थानीय तहको सूचनामा पहुँच रहेकोमा मधेश प्रदेशमा न्यून देखिएको हो ।
जलेश्वर नगरपालिका क्षेत्रका ४५२ युवाबीच गरिएको सर्वेक्षणमा २९ प्रतिशत युवाको सूचनामा पहुँच रहेपनि ८९ प्रतिशतले कठिनाई भोग्नुपरेको र त्यसमध्ये ५९ प्रतिशतले पर्याप्त सूचना नपाएको देखिएको हो । अन्तरक्रिया कार्यक्रममा जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी सतिश कुमार महतोले युवालाई सूचनाको महत्व बुझ्न आग्रह गर्दै आवश्यक सूचना प्राप्तीका लागि अग्रसरता देखाउन आग्रह गरे ।
कार्यक्रममा अकाउन्टाविलिटी ल्यावकी प्रतिनिधि सुचिता श्रेष्ठले नेपालबाट शुरू भएको यो संस्थाको अभियान १३ देशमा पुगिसकेको जानकारी दिइन् । त्यस्तै वसविन महर्जनले युवाको पहुँच सूचनामा बढाउन स्वयं युवा अग्रसर हुनुपर्ने जिकिर गरिन् । स्थानीय क्याम्पसमा अध्ययनरत विद्यार्थी, युवा, कर्मचारी, संचारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि, यौनिक तथा लैंगिक अल्पसंख्यक लगायतको उपस्थितीमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सहजीकरण पत्रकार राकेशप्रसाद चौधरीले गरेका थिए ।
