Type Here to Get Search Results !

पाँच दिनपछि अस्पतालले परिवारलाई दियो रोशनको शव

 


विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पतालले पाँच दिनपछि युवकको शव परिवारलाई दिएको छ । उपचारका क्रममा मृत्यु भएका सप्तरीको सुरुंगा नगरपालिका–१ तेदहरीका २१ वर्षीय रोशनकुमार सदायको शव शनिबार दिउँसो अस्पताल प्रशासनले मृतक परिवारलाई घर लैजान दिएको हो । 

उपचारमा खर्च भएकोमध्ये ३५ हजार रुपैयाँ बुझाउन नसक्दा अस्पतालले पाँच दिनसम्म सदायको शव मृतक परिवारलाई दिन मानेको थिएन । अस्पताल प्रशासन प्रमुख दिपेश राईले शव बन्धक राखेको नभई मृतक परिवारले बाँकी रकम बुझाएपछि लैजान्छु भनेकाले पाँच दिनसम्म अस्पतालको शवगृहमा राखिएको दावी गरे ।

‘सुरुमै रकम बुझाउन सक्दैनौं भनेको भए अस्पताल प्रशासनले केही न केही गथ्र्यो,’ उनले भने, ‘वडा कार्यालयले मृतक परिवार विपन्न भएकाले बाँकी रकम मिनाहा गरी शव सम्बन्धित परिवारलाई बुझाइदिन लेखेको पत्र पनि शुक्रबार राति मात्र प्राप्त भएकाले शनिबार बिहान अस्पतालका निर्देशकसँग कुराकानी गरेर बाँकी रकम मिनाहा गरेर शव बुझाएका हौं ।’ सुरुंगा नगरपालिका–१ वडा कार्यालयले व्यवस्था गरिदिएको एम्बुलेन्समा शनिबार अपरान्ह शव घर ल्याइएपछि साँझ नै स्थानीय शिवारी खोलामा सदायको दाहसंस्कार गरिएको छ । 

दुवै मृगौला फेल भई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका विन्देश्वर सदायका जेठा छोरा रोशनलाई अस्पतालले करिब १५ दिनअघि विराटनगरस्थित नोवेल अस्पतालमा रेफर गरेपछि उपचारको क्रममा १ जेठ राति उनको मृत्यु भएको थियो ।

‘उपचारको क्रममा पटकपटक गरी केही रकम बुझाएको र छोराको मृत्युपछि ६५ हजार रुपैयाँ बाँकी रहेको अस्पतालले सुनाएको थियो,’ मृतककी आमा सुनिता सदायले नयाँ पत्रिकासँग भनिन् । गाउँघरमा ऋण सापटी गरेर मगाएको ३० हजार रुपैयाँ बुझाएर शव गाउँ पुर्‍याई दाहसंस्कार र काजकिरियापछि बाँकी रकम तिर्छु भन्दा पनि चौथो दिनसम्म शव नदिएको उनको गुनासो छ । 

नयाँ पत्रिकाकाे समाचार प्रभाव

नयाँ पत्रिकाको अनलाईन संस्करणमा शनिबार बिहान ‘पैंतिस हजार बुझाउन नसक्दा पाँच दिनदेखि शव बन्धक’ शीर्षकमा समाचार प्रकाशित भएपछि अस्पताल प्रशासानले मृतकको शव सम्बन्धित परिवारालई हस्तान्तरण गरेको हो । शव ल्याउन वडा कार्यालयले एम्बुलेन्स र  बाटो खर्चका लागि नगरपालिकाले १० हजार रुपैयाँ नगद उपलब्ध गराएको सुरुङ्गा १ पिप्रा पश्चिमका वडाध्यक्ष छत्रबहादुर राउत (राजकुमार) ले बताए ।

मृत्यु भएको चौथो दिनसम्म पनि शव नआउँदा उनको घरमा रहेका मृतककी बहिनी, साली, दुई भाई र छरछिमेकको समेत रुवाबासी चलिरहेको स्थानीय समेत रहेका सुरुङ्गा १ का वडा कार्यालयमा कार्यरत जयप्रकाश चौधरीले बताए। 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today