सरकारले आउँदो आर्थिक वर्षका निम्ति ल्याएको बजेटमा स्वास्थ्यतर्फ तुलनात्मक रूपमा विनियोजन कम छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आउँदो आर्थिक वर्षका निम्ति ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कुल बजेटको यो ४.६४ प्रतिशत हो ।
चालु आर्थिक वर्षमा स्वास्थ्यमा ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट छुट्ट्याइएको थियो । त्यो कुल बजेटको ४.७९ प्रतिशत हो । अर्थात्, समग्रमा आउँदो आर्थिक वर्षमा ०.१५ प्रतिशतले बजेट घटेको छ । तर, रकमका हिसाबले चालुभन्दा आउँदो आर्थिक वर्षको बजेट दुई अर्ब २५ करोड रुपैयाँले बढी छ ।
स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत रकम छुट्ट्याउनुपर्ने राष्ट्रिय स्वास्थ्य वित्त रणनीति भए पनि त्यसलाई कार्यान्वयन गरिएको छैन । बजेटमा हाल निर्माणाधीन सबै पाँच, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण सम्पन्न गर्न १५ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
विपन्न नागरिक औषधि उपचार खर्चअन्तर्गत घातक रोगको उपचारमा दिइने एक लाख रुपैयाँ छुट रकमको सोधभर्नाका निम्ति तीन अर्ब रुपैयाँ छुट्ट्याइएको छ ।

