सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका ४ घर भई हाल शारदा नगरपाकिला ६ बरला बस्दै आइरहेका ३१ वर्षीय हस्तबहादुर विष्ट भन्ने डनराज विष्टले काका नाता पर्ने शारदा नगरपालिका २ स्याला बस्ने ४६ वर्षीय घनश्याम विष्टको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
हस्तबहादुरले ४ जेठमा शारदा नगरपालिका ६ स्थित राप्ती राजमार्गबाट तान्दै घिसार्दै घट्टेखोला पुलनजिकै लगेर कुटपिट गरी घाइते बनाएका थिए।
घाइते घनश्यामको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो। उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट एम्बुलेन्समा घरतर्फ ल्याउने क्रममा बिहीबार बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।
कुटपिट गर्ने भतिजालाई ५ जेठमा पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको थियो। अब उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको उधमलाले बताए।

