Type Here to Get Search Results !

डेढ अर्ब लगानीमा यस्तो बन्दैछ भाटभटेनी सुपर मार्केट मुख्यालय

 

नेपालमा खुद्रा व्यापारको ‘साम्राज्य’ खडा गरेको भाटभटेनी सुपर मार्केटले आफ्नो सुरुवाती शाखा (मुख्यालय) पूर्वाधारमा व्यापक परिवर्तन गर्न लागेको छ ।

भाटभटेनीका संस्थापक तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले ४० वर्षअघि ३५ हजार रुपैयाँ लगानीमा स्थापना गरेको भाटभटेनी सुपर मार्केटको पहिलो शाखा (टंगालस्थित हालको मुख्यालय) को पूर्वाधारमा व्यापक परिवर्तन गर्न लागिएको जानकारी दिए ।

‘नक्सालस्थित हाम्रो पहिलो शाखामा पार्किङको पनि समस्या छ र अन्य पूर्वाधार पनि आवश्यक रहेकाले पूरै नयाँ स्वरूपमा निर्माण गर्दैछौं,’ भाटभटेनीका प्रबन्ध निर्देशक गुरुङले  भने, ‘यसका लागि डेढ अर्ब रुपैयाँ लगानी गर्दैछौं ।’

उनका अनुसार टंगाल भाटभटेनी परिसरमा रहेका पेपे पिज्जा रेस्टुरेन्ट, ज्वेलरी सप, आफू बस्ने घर, कार्यालय रहेका दुइटा घर सबै पूर्णरूपमा भत्काएर अत्याधुनिक भवन निर्माण गरिने छ ।

हाल रहेको पुरानो भवनमा वरिपरिबाट नयाँ भवन बनाएर जोडिने उनले बताए । निर्माण कार्य सुरु भइसकेको छ भने एक वर्षभित्र सात तले नयाँ भवन तयार हुनेछ ।

नयाँ बन्ने भवनमा ‘बेसमेन्ट पार्किङ’ रहने छ । त्यस्तै रेस्टुरेन्ट, कर्पोरेट अफिसदेखि फुड कोर्टसम्म पनि रहनेछन् ।

नयाँ बन्ने भवनमा ग्राहकलाई निःशुल्क पार्किङ उपलब्ध गराइने उनले बताए । ‘सामान किन्न आउने ग्राहकलाई पार्किङको निःशुल्क सुविधा नदिने हो भने त कसरी व्यापार गर्न सकिन्छ ?,’ गुरुङ भन्छन्, ‘ग्राहक सेवा नै हाम्रो पहिलो प्राथमिकता हो ।’

सन् १९८४ मा काठमाडौं टंगालस्थित भाटभटेनी मन्दिर छेउमा खोटाङका गुरुङले ३५ हजार रुपैयाँ लगानीमा १ सय २० वर्गफिट क्षेत्रफलको भाडाको कोठाबाट ‘भाटभटेनी सुपर मार्केट’ स्थापना गरेका थिए । स्थापनाको पहिलो दिन भाटभटेनीले १ हजार ३ सय ५० रुपैयाँबराबर बिक्री गरेको थियो ।

हाल भाटभटेनीका दुई दर्जनभन्दा बढी शाखा सञ्चालनमा छन् । तीमध्ये काठमाडौं उपत्यकामा १३ तथा बाँकी विभिन्न प्रमुख सहरमा छन् ।

काठमाडौं उपत्यकामा टंगाल, महाराजगञ्ज, टोखा, कोटेश्वर, चुच्चेपाटी, अनामनगर, बालाजु, कलंकी, त्रिपुरेश्वर, कृष्णगल्ली, सातदोबाटो, सानागाउँ र थिमिमा भाटभटेनीका शाखा सञ्चालनमा छन् ।

त्यस्तै काठमाडौं बाहिर पोखरा, धरान, इटहरी, विराटनगर, जनकपुर, हेटौंडा, वीरगञ्ज, धनगढी, नेपालगञ्ज, बुटवल, भैरहवा र बिर्तामोडमा चलिरहेका छन् ।

नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन भाटभटेनीमा हाल ४ हजार ५ सयभन्दा बढीले पूर्णकालीन प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यसको वार्षिक आम्दानी ३२ अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today