Type Here to Get Search Results !

नेपालकै सबैभन्दा ठुलो गुफा गोरखाको ‘सीता गुफा’ भएको स्थानीयको दाबी




 नेपालकै ठुला गुफाहरू मध्यको सीता गुफा यतिखेर प्रचारको अभावमा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको यस गुफा सरोकारवाला पक्षको आवश्यक ध्यान पुग्न नसक्दा ओझेलमा परेको हो ।

सिता गुफा जिल्लाको उत्तरी भेग बारपाक-सुलिकोट गाउँपालिका-३ स्वाँरा बुङ्दुलमा अवस्थित छ । स्थानीय भाषामा छ्य अर्थात् शिक्षा-ज्ञान र ता अर्थात् ग्रहण गर्नु/लिनु हो ।

पहिला-पहिला यस गुफामा तमु धर्मगुरुहरूले ज्ञान प्राप्तिको लागि ध्यान गर्ने भएकाले यसो भनिएको अहिले पनि विश्वास रहिआएको छ। अहिले भने यो सीता गुफाको नामले परिचित छ।

यस गुफाभित्र गाइको थुन, मौरीको चाका, बाघको छाला जस्ता थुप्रै आकर्षक दृश्य देख्न सकिन्छ । स्थानीयको सक्रियतामा वर्षमा एक पटक राम नवमीको दिन मेला लाग्ने बाहेक यस गुफालाई कसैले कतैबाट महत्त्व दिएको देखिँदैन।

यस मेलाको मौसममा गुफाको वरिपरि गुराँस फुलेको प्राकृतिक दृश्य देख्न पाइनुका साथै काफल, तिँदु, ऐसेलु, मच्चिनु, चुत्रोजस्ता फलसरह प्रशस्त रूपमा पाइन्छ।

यहाँबाट उत्तरमा धार्चे लेक, पश्चिमा सौरपानिको थानिथान, पूर्वमा बजेनी ताल र दिदी बैनी डाँडा, दक्षिणमा ताकुकोटको माईस्थान र रानिमुलको मनोरम दृश्यको अवलोकन गर्न समेत पाइन्छ ।

यस गुफालाई पर्यटकीय पदमार्ग भित्र पारेर धार्मिक, सांस्कृतिक, पर्यटकीय, ऐतिहासिक महत्त्व सहित आवश्यक प्रबन्धन गर्न सकिए बारपाक-सुलिकोट गाउँपालिका मात्र नभएर गोरखा जिल्लाकै पहिचानको रूपमा अगाडि ल्याउन सकिने छ ।

प्रचार-प्रसार अभावका अझाेलमा

प्रचारप्रसार र सरोकारवाला निकायको बेवास्ताका कारण स्वाँरा गाविसमा रहेको ऐतिहासिक सीता गुफा ओझेलमा परेको छ ।

गुफा भेटिएको दुई सय वर्ष बितिसक्दासमेत स्थानीयवासी, पर्यटनसँग सम्बन्धित निकायको बेवास्ताका कारण गुफा ओझेलमा परेको हो ।

सदरमुकामबाट ३० माइल उत्तरमा रहेको गुफा धार्मिक युगका राम र सीताको पालादेखि रहँदै आएको स्थानीय जानकारले बताएका छन् ।

उनीहरूका अनुसार २ फुट चौडाइ र ४० फुट हाइट भएको गुफा स्वाँरादेखि आरुचनौटे गाविसको गण्डकी किनारसम्म रहेको छ ।

सत्य युगमा राम र सीताको मनमुटाब भई सीता भाग्दै गर्दा बगदुल गाउँको जंगलमा सीताले ‘सत्य छ भने धर्ती फाट रामले पिछा गर्दै छन्’ भन्दा धर्ती फाटेर गुफाको उत्पत्ति भएको भन्ने धार्मिक कथन रहेको स्थानीय बुद्धि गुरुङले बताए ।

सबैभन्दा लामो हुन सक्ने स्थानीयको अनुमान

उक्त गुफाको वास्तविक लम्बाइ लिन सकेमा अन्य ठाउँका तुलनामा सबैभन्दा लामो हुन सक्ने स्थानीयको अनुमान छ ।

गाविसको २ नम्बर वडाबाट सुरु भएको गुफाको तीन घण्टाको बाटो अगाडिसम्म मानिस आवतजावत गर्ने गरेका छन् ।

त्यसभन्दा अगाडिको भाग मानिस छिर्न नसक्ने सानो आकारको भएकाले जाने गरेका छैनन् ।

यसरी गुफाको संरक्षण, संवर्द्धन तथा प्रचारप्रसारका लागि स्थानीयले गरेको अभियानमा सरोकारवाला निकायले लगानी गर्न सकेको छैन ।

गुफामा कामधेनु गाईको थुन, पाप र धर्मको गौडा, शिवजीको ढुंगाको मूर्ति, हनुमानको टाउको, बाघको छालाको आकृति, राम र सीताको आकृति, पानी धारालगायत कलात्मक दृश्य देख्न सकिन्छ ।

नेपालको सबैभन्दा ठुलो मानिएको तनहुँको सिद्ध गुफाभन्दा गोरखाको स्वाँरामा रहेको सीता गुफा लामो र ठुलो रहेको स्थानीय धामी बरामले बताए।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today