Type Here to Get Search Results !

व्यक्तिगत रिसइबीमा साथीको हत्या, खाल्डो खनेर लुकाएको अवस्थामा मृतकको मोबाइल बरामद

 unn.prixa.net

गाेरखा – गोरखा नगरपालिका–१४ को अकला मन्दिर नजिकै मृत भेटिएका महेश पन्तको उनकै साथीले हत्या गरेको खुलेको छ ।

अकला मन्दिर नजिकै हिल कटेज होटल सञ्चालन गर्दै आएका २८ वर्षका महेश भनिने महेश्वरबाबु पन्तको शव आफ्नै होटलमा गएकाे पुस १६ गते फेला परेको थियो । मृतक पन्तको घर पालुङटार नगरपालिका–८ लामाचौर हो । पुस १६ गते शरीरको विभिन्न भागमा धारिलो हतियारको चोटसहितको शव फेला थियो । घटनाको प्रकृति र पोस्टमार्टम रिपोर्टलाई आधार मानेर प्रहरीले हत्या भएको निष्कर्षसहित अनुसन्धान अघि बढाएको थियो ।

आज बुधवार पत्रकार सम्मेलन गर्दै कास्कीका प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले मृतक पन्तका साथी गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ वर्षका किसान परियारले हत्या गरेको पुष्टि भएको बताउनुभयो । पुस २४ गते मङ्गलवार काठमाण्डौकाे कलङ्कीबाट पक्राउ परेका परियारलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

एसपी श्रेष्ठका अनुसार परियारले गएकाे पुस ९ गते राति पन्तको हत्या गरेको स्वीकारेका छन् । व्यक्तिगत रिसइबीका कारण आफूले पन्तको हत्या गरेको स्वीकारेका परियारले कस्तो प्रकारको रिसइबी भन्ने खुलाएका छैनन् । उनीहरू नजिकका साथी रहेको र दिनहुँजसो त्यही होटलमा भेट भएर लागुऔषध खाने गरेको पाइएको पनि एसपी श्रेष्ठले बताउनुभयो । ‘घटना भएको राति पनि मृतक पन्तकै होटलको भान्छा कोठामा बसेर दुवै जनाले लागुऔषध गाँजा खाएको खुलेको छ’, उहाँले भन्नुभयो, ‘त्यसपछि त्यही कोठामा बस्दै गर्दा दुवै जनाबीच विवाद भएर हात हालाहाल भएको र त्यही बीचमा परियारले भान्छामा रहेका हतियारले टाउको र खुट्टामा अन्धाधुन्ध प्रहार गरेको देखिन्छ ।’

हत्यालगत्तै भान्छा कोठाको पछाडिको ढोकाबाट निस्केर हिँडेका परियार घटनाको भोलिपल्ट पुस १० गते घटनास्थल नजिकै रहेको आफ्नो घरमा बसेका थिए । ११ गते गोरखा नगरपालिका–१२ काे दिदी भिनाजुकाे घरमा आएका उनले पुस १९ गतेसम्म त्यहीँ बसेको बयान दिएका छन् । पुस १६ गते पन्तको शव फेला परेपछिको तीन दिनसम्म पनि गोरखामै रहेका परियार १९ गते काठमाण्डौ पुगेर कलङ्कीमा रहेका आफन्तसँग बस्न थालेका थिए ।

पन्तको हत्या गरेको पुष्टि हुने बलियो आधारहरू फेला परेपछि पुस २४ गते मङ्गलवार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा पक्राउ गरी उनलाई गोरखा ल्याइएको थियाे । परियारसँगको प्रारम्भिक बयानका आधारमा प्रहरीले घटनास्थल नजिकैको जङ्गलबाट हत्यामा प्रयोग भएको खुर्पा र चक्कु बरामद गरेको छ । यस्तै हत्यापछि उनी लुकेर बसेको दिदी भिनाजुको घर नजिकै टुक्रा टुक्रा पारेर जमिनमा गाडिएको अवस्थामा मृतक पन्तले प्रयोग गर्दै आएको मोबाइल पनि बरामद गरिएको एसपी श्रेष्ठले जानकारी दिनुभयो । 

परियारविरुद्ध कर्तव्य ज्यान मुद्दामा गोरखा जिल्ला अदालतबाट सत दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today