पुसको पहिलो हप्ताबाट सर्लाहीमा किसानलाई तरुल खन्न भ्याई नभ्याई भएको छ । मुख्य गरेर तरुलको पर्वको रुपमा मनाइने माघे संक्रान्तिलाई लक्षित गरेर किसानले धमाधम तरुल खन्न सुरु गरेका हुन् ।
जिल्लाको बागमती र बरहथवा लगाएतका स्थानमा ठूलो मात्रामा तरुल खेती हुँदै आएको छ । राम्रो उत्पादन तथा मूल्य समेत राम्रो हुने भएपछि किसानहरु तरुल खेतीतर्फ आकर्षित हुने गरेका छन् । तरुल लगाउने किसानहरुले अन्तर बालिको रुपमा मकै समेत फलाउने गरेका छन् । अन्तरबालीबाट समेत फाईदा हुने र तरुलबाट समेत प्रतिकठ्ठा १२ हजार देखी ३५ हजार सम्म आम्दानी हुने गरेको बागमती नगरपालिका–५, का किसान कर्ण बहादुर लामाले बताए ।
यस बर्ष ५ कठ्ठामा तरुल लगाएका उनले प्रतिकठ्ठा २० हजारको दरले पैसा लिएको बताए । राम्रो उत्पादन हुँदा मूल्य पनि राम्रो पाईने र सजिलै ठेक्का लाग्ने गरेको उनको भनाइ छ । तरुल खन्ने सिजनमा व्यापारीहरु गाडि लिएर खेतमै पुग्ने गर्छन् । उत्पादन हेरेर प्रतिकठ्ठा १२ देखी ३५ हजारसम्म तिरेर आफैले खनेर लैजाने गरेको व्यापारी बागमती नगरपालिका–५, का बाबुराम लामाले बताए ।
किसानबाट किनेको तरुल स्थानीय बजार लगाएत काठमाडाैँ, पोखरा, विराटनगर, हेटौंडा लगाएतका मुख्य बजारसम्म पुर्याएर बेचबिखन हुने गर्छ । माघे संक्रान्तिको समयमा बजार पुर्याएको तरुल राम्रो भाउमा बिक्री हुने गरेको किसानको भनाइ छ ।
तरुल हलुका र खुकुलो माटोमा राम्रो उत्पादन हुने गर्दछ । समयमा मल पानी राखेको अवस्थामा प्रति कठ्ठा एक क्वीन्टलसम्म तरुल उत्पादन हुने कृषि प्राविधिक हिमाल शाहीले जानकारी दिए । तरुलेले १२ महिनै बजार पाउने गरे पनि बिशेष गरी माघे संक्रान्तिमा मात्र बजार पाउने गरेको छ ।
बगरको तरुल खेतीबाट मनग्य आम्दानी

जिल्लाको बागमती नगरपालिकाको धेरै तथा बरहथवा नगरपालिकाका केही स्थानमा तरुल खेती हुँदै आएको छ । बिशेष गरेर बागमती नदी किनार स्थित बागमती बगर क्षेत्रमा किसानहरुले तरुल खेती गर्दै आएका छन् । व्यवसायीक रुपमा उन्नत बिउ बिजनको उपलब्धता तथा उत्पादन नभएपनि स्थानीयले आफैले फलाएको तरुललाई बिउको रुपमा प्रयोग गरेर रातो र सेतो गरी दुई जातको तरुल उत्पादन गर्दै आएका छन् । रातो तरुलको उत्पादन कम हुने तथा खान मिठो हुने गरेकोले धेरै उपभोक्तानको रोजाईमा पर्ने गरेको छ ।
यसको मुल्य समेत महंगो हुने गरेको कृषि प्राविधिक सुरज खनालले जानकारी दिए । सेतो भने उत्पादन अत्यधिक हुने भएपनि खान त्यति मिठो नहुने उपभोक्ताहरुको भनाई छ ।खुकुलो माटो चाहिने भएकोले बलौटे माटो अर्थात बगरमा तरुलको उत्पादन राम्रो हुने गरेको किसानहरुको भनाई छ । विगतको भन्दा उत्पादनमा कम हुँदै गएपनि तरुल खेती बालुवामा सुन बनेको बागमती नगरपालिका–६, का किसान राम पुकार रायले बताए ।
यहाँ तरुल फागुण चैत देखी जेठ अषाढ सम्म रोप्ने गरिन्छ । तरुलको लागि थांग्रा अनिवार्य चाहिने भएकोले मकैसँगै तरुल रोप्ने चलन छ । मकै उम्रिनका लागि चिसो चाहिने भएकाले बर्षात् भएपछिमात्र तरुल तथा मकै रोप्ने गरिन्छ । कहिले काँही बर्षात् ढिलो हुँदा तरुल रोप्न समेत ढिला हुने गरेको किसानहरुको भनाई छ । यसले गर्दा उत्पादनमा समेत गिरावट आउने गरेको छ ।
बलौटे माटोमा अन्य बाली नहुने तथा जंगली जनावरले समेत नोक्सान नगर्ने भएका कारण तरुल बगरको सुन बनेको स्थानीय किसान सोम बहादुर तामांले जानकारी दिए । बागमती र बरहथवा नगरपालिका स्थित बगर क्षेत्रमा धेरै खेती हुँदै आएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । बर्षेनी ७० देखी ८० विगाहा क्षेत्रफलमा तरुल उत्पादन भईरहेको तथ्यांक छ ।
किसानहरुले प्रति ३ सय ५० देखी हजार क्वीन्टलसम्म तरुल उत्पादन गरेको पाइएको छ । यसरी उत्पादन भएको तरुल किसानले प्रतिकिलो ३० देखी ४० रुपैयाँ प्रतिकिलो सम्ममा बिक्री वितरण गर्ने गरेका छन् ।

