Type Here to Get Search Results !

कागजपत्र छानबिन गर्न माग

 


       सुनसरीको इनरुवास्थित जिल्ला प्रहरी कार्यालयमा                       सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै सीता सदा ।                                                               विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भए भनिएका इनरुवा–३ का प्रताप सदा मुसहर जीवित पाइएको विषयलाई लिएर सो अस्पताल प्रशासन मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सदाको मृत्यु भएको घोषणा अस्पतालले नगरेको दाबी गरेको छ । उहाँकी श्रीमती सीता सदाले भने सो अस्पतालले आफ्नो पतिको मृत्यु भएको र उपचारका क्रममा लागेको खर्च अस्पताललाई बुझाएर शव लैजानु भनेको दाबी पुनः गर्नुभएको छ । प्रस्तुत छ इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरीमा सीताले सञ्चारकर्मीसँग गरेको सङ्क्षिप्त कुराकानीको सम्पादिन अंश :

 मेट्रो न्युरो अस्पतालले के भनेको थियो ? 

अस्पतालले दिनको रातको १२ हजार लाग्छ भन्यो । मैले मसँग त पैसा छैन, चन्दा मागेर ल्याएकी छु भनेँ । अनि उनीहरूले कमै पैसा लाग्छ भने । अनि मैले हुन्छ भनेँ । दबाई चलाउँदै थिए । अनि शनिबार ३ बजे त तिम्रो मान्छे मरिसक्यो पैसा दिनू अनि लासलाई लैजानू घर भन्यो । अनि मैले त्यति पैसा त मसँग छैन १५ हजार मात्रै छ, १५ हजार लिनु अनि लास दिनू म घर लान्छु भनेँ । शनिबार नदिएपछि राति त्यहीँ बेडमा राख्यो । अनि पैसा छैन भने तिम्रो लास मुर्दाघरमा राखिदिन्छु भन्यो । अनि जहिले पैसा हुन्छ तैले त्यो लास लानू भने । मैले त्यहाँबाट छिमेकीलाई फोन गरेर यति पैसा माग्दै छन् यिनीहरू, मसँग पैसा छैन भनेँ । अनि छिमेकीले चन्दा मागेर त्यहाँ ५० हजार पु¥याएका थिए । २५ हजार लियो दबाईवालाले र २५ हजार हस्पिटलले अनि लास दियो, अनि घर आयौँ । 

 तपाईंले प्रहरीलाई के भन्नुभयो ?

हस्पिटलले भन्छ तिम्रो बुढो मरिसक्यो । अनि फोकटियामा पैसा लियो । चन्दा मागेर दिएकी थिएँ अब मेरो भनाइ छ, मेरो पैसा दिलाइदिनू ।

 भनेपछि तपाईंले क्षतिपूर्ति माग्नुभएको हो ?

हो हो, मेरा श्रीमान् जिउँदै छन्, त्यत्तिकै मरेको घोषणा गरियो । अनि मेरो घरमा सबै कफन साडी तयार राखेको छ । डाक्टरले त्यस्तो त भन्न हुँदैनथ्यो । 

 हस्पिटलले किन मर्‍यो भन्यो होला ?

खोइ मलाई उनीहरूले त्यही भने, म के गरुँ ? त्यति त म बुझ्दिनँ अब ।

 पैसा नदिई लास दिन्नौँ भनेको हो र ?

हो, पैसा नदिई दिँदैनौँ भनेपछि के गर्नु ? अनि चन्दा गरेर मागेर दिएपछि मात्र लास 

दिएको हो । 

 अरू केही भन्न चाहनुहुन्छ ?

म अनपढ मान्छे, मैले हस्पिटलको कुनै कागजपत्रमा सहीछाप गरेको छैन । त्यसको छानबिन होस् । हस्पिटलले फोकटियामा लिएको पैसा फिर्ता गराइदिनूस् ।   

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today