Type Here to Get Search Results !

अक्सफोर्ड कलेजका विद्यार्थीलाई निःशुल्क जापान जान पाउने


 

नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजमा अध्ययन गरी इन्जिनीयरिङ उत्तीणर् गरेका विद्यार्थी निःशुल्क जापान जान पाउने भएका छन् । कलेज र जापानको आइम्याक इन्जिनीयरिङ कम्पनी लिमिटेडका बीच यहाँका इन्जिनीयरलाई एक वर्षको भिषा दिएर जापान लैजाने सम्झौता भएको कलेजले जनाएको छ ।

कलेजले आज आयोजना गरेको उच्च शिक्षा गुणस्तर र कार्यान्वयन विषयक कार्यक्रममा कलेजका प्राचार्य प्राध्यापक इन्जिनीयर हरि भण्डारीले अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्ट र आइम्याक इन्जिनीयरिङ कम्पनी लिमिटेडबीच सम्झौता भएको जानकारी दिनुभयो । कार्यक्रममा भण्डारीले एक महिना अघि आफू जापान जाँदा त्यहाँका कम्पनीसँग सम्झौता गरेको भन्दै भण्डारीले अब यहाँका इन्जिनीयरलाई निःशुल्क जापान जाने बाटो खुलेको बताउनुभयो । एक वर्षका लागि कम्पनीबाट भिषा प्रदान गरिने भन्दै भण्डारीले त्यहाँ पुगेर विद्यार्थीले इन्जिनीयरिङकै विषयमा थप प्रशिक्षण लिएर काम सिक्ने र पैसा कमाउने अवसर पाउने बताउनुभयो ।


नेपालबाट तल्लो तहको भनिएका काम गर्नका लागि विदेशिनुपर्ने अवस्थामा कलेजले दक्ष व्यक्तिलाई उनीहरुको ज्ञानकै आधारमा जापान पठाउन लागेको भन्दै भण्डारीले यो सुरुआत भएको बताउनुभयो । उहाँ जापान गएको बेला बेस्ट इन्जिनीयरिङ कलेज अफ दी इयर २०२३ को उपाधी ग्रहण गरेसँगै, कलेजले यहाँका इन्जिनीयर जापान पठाउने तथा अक्सफोर्ड माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरु शैक्षिक अध्ययनका लागि जापान जान पाउने सम्झौता गरेको जानकारी दिनुभयो । कलेजले इन्जिनीयरिङतर्फ सातौँ सेमिस्टार अध्ययन गरेका विद्यार्थीलाई कलेलमै जापानीज भाषा अध्ययन गराएर जापान जान थप सहज बनाउने तयारी गरेको भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा आइम्याक इन्जिनीयरिङ कम्पनी लिमिटेड जापानका प्रमुख कार्यकारी अधिकृत यामागुची यासिहितोले आफूहरुको कम्पनीमा पाँच सय भन्दा बढी नेपाली इन्जिनीयर कार्यरत रहेको भन्दै बर्सेनि नेपाली इन्जिनीयर लिएर जाने बताउनुभयो । नेपाली इन्जिनीयरलाई एक वर्षसम्म प्रशिक्षणसँगै काम गर्ने अवसर दिँदा प्रशिक्षार्थीको क्षमता अभिवृद्धिसँगै आफ्नो कम्पनीलाईसमेत फाइदा पुग्ने बताउनुभयो । जसकारण उनीहरु नेपाल फर्किएर पनि नेपालको विकासमा काम गर्न सक्ने आफूहरुको बुझाइ रहेको यामागुचीले बताउनुभयो ।
अक्सफोर्ड कलेजका साथै आफूहरुले पोखरा विश्वविद्यालयसँगसमेत सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उहाँको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा विश्वविद्यालयको विज्ञान र प्रविधि संकायका डिन प्राध्यापक राजेशकुमार ठगुराथीले आफूहरु पनि जापानको कलेजसँग सम्बन्ध गाँस्न प्रतिक्षारत रहेको बताउनुभयो । जापानको प्रविधि तथा विकास नेपालका विद्यार्थीलाई आवश्यक रहेको भन्दै नेपाल र जापानबीचको बलियो सम्बन्धलाई अझै प्रगाढ बनाउन आफूहरुले भूमिका खेल्ने उहाँको भनाइ छ ।
यसैबीच, अक्सफोर्ड कलेजले स्नातक तहमा विभिन्न कार्यक्रमसहित विद्यार्थीहरुको भर्ना खुला गरेको कलेजका सहायक प्राचार्य तिलकराम पन्थीले बताउनुभयो । उहाँकाअनुसार पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा यस वर्षबाट बीई कम्प्युटरको पठनपाठन सुरु गरिएको छ । त्यस्तै बीएचएम र एमईको पठानपाठन चाँडै सुरु गर्ने भन्दै पन्थीले अहिले स्नातक तहअन्तर्गत बीई कम्प्युटरसँगै, बीबीए, बीसिए, बीई सिभिल, बीई इलेक्ट्रिकल इलेक्ट्रनिक्समा भर्ना खुला गरिएको बताउनुभयो ।
पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायका डिन प्राध्यापक प्राध्यापक डाक्टर दयाराज ढकाल, तकुवा कर्पोरेसन इन्स्टिच्युटका अध्यक्ष ओकुदा सिन्जीलगायतको उपस्थिति रहेको कार्यक्रममा कलेजका प्राध्यापक कृष्णहरि पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today