लालबन्दीमा मोटरसाईकल दूर्घट्ना हुँदा दुई युवाको ज्यान गयो
November 03, 2023
0
सर्लाहीको लालबन्दीमा मोटरसाईकल दूर्घट्ना हुँदा दुई युवाको ज्यान गएको छ। दुर्घटनामा सर्लाहीकै हरिवन नगरपालिका– ११ का दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।मृत्यु हुनेमा हरिवन– ११ का २८ वर्षीय मुकेशकुमार गुप्ता र सोही ठाउँका ३५ वर्षीय सुनिलकुमार गुप्ता छन्। प्रहरीका अनुसार मुकेश मोटरसाइकल चालक हुन् भने सुनिल पछाडि सवार थिए।
गएराती पूर्वपश्चिम राजमार्ग अन्तर्गत लालबन्दी– १७ स्थित कालिञ्जोर पुल नजिक बीआर ०६ जीडी ३१४१ नम्बरको भारतीय ट्रकमा प्रदेश–२ –०३–००४ प ३५५ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो। तीव्र गतिको मोटरसाइकल बिग्रेर सडकमा रोकि राखेको भारतीय ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।
राति करिब १० बजे ट्रक बिग्रिएपछि गाडी सडकमै छाडेर चालक र सहचालक मर्मतको लागि मिस्त्री खोज्न लालबन्दी बजारतर्फ गएको बेला घटना भएको प्रहरीले जनाएको छ। उनीहरु जनकपुरबाट सर्लाही फर्किंदै गर्दा घटना भएको आफन्तले जनाएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका मुकेशलाई उपचारको लागि महोत्तरीको बर्दिबास लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। रातको समयमा तीव्र गतिमा रहेको मोटरसाइकल चालकले अगाडिको दृश्य राम्ररी नदेख्दा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय लालबन्दीले ट्रक चालकलाई पक्राउ गरेको छ।
Tags

