गत हप्ता मलेसियामा भएको एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्दा नेपाली टिमका सदस्य अर्जुन कुमाल चर्चामा रहे ।
समूह चरणको खेलमा साउदी अरेबियाविरुद्ध १४२ रन बनाएका उनले उमेर समूहकै खेलमा दुई शतक बनाइसकेका छन् । यसअघि उनले गत फागुनमा आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रन बनाएका थिए ।
१८ वर्षीय अर्जुन साउदीविरुद्ध बनाएको १४२ रन नेपाली क्रिकेटमा एउटै पारीमा बनेको उच्च व्यक्तिगत स्कोर हो । ‘अहिलेको प्रदर्शनहरुले अब आउने मुख्य प्रतियोगिता एसिया कप र विश्वकपमा निकै आत्मविश्वास बढाउन काम गर्छ’, अर्जुन भन्छन्
मलेसियामा यु–१९ प्रिमियर कपको उपाधि जितेर डिसेम्बरमा हुने यू–१९ एसिया कपमा छनोट भएको नेपालले यसअघि नै २०२४ को विश्वकपको लागि स्थान सुरक्षित गरेको थियो । ‘अब मेरो फोकस भनेको एसिया कप र विश्वकप नै हो’, उनले भने ।
यी प्रतियोगितामा आफ्नो प्रदर्शन सुधार गर्दै उनी सिनियर टिमको ढोका खोल्न चाहन्छन् । राष्ट्रिय टिममा परेर स्थान बनाइ रहन आफूले धेरै सुधार गर्नुपर्ने उनलाई लागेको छ । ‘आफ्नो प्रदर्शन राम्रो बनाएर मात्र आउन मन छ’, उनी भन्छन् ।
यू–१६ इस्ट जोन कपमा राम्रो प्रदर्शन गरेका अर्जुनले यू–१९ मा पनि उत्कृष्ट प्रदर्शन गरे । उमेर समूहमा गरेको प्रदर्शनका आधारमा उनी सन् २०२१ मा एक पटक सिनियर टिमको बन्द प्रशिक्षणमा समेत परेका थिए ।
हुर्काइ, बढाइ र सिकाइ भारतमै
गुल्मी घर भएका अर्जुन बुबा आमासँगै भारतको राजधानी नयाँदिल्लीमा बस्दै आएका छन् । बाबु मेघबहादुर र आमा विष्णुका एकमात्र सन्तान अर्जुन सानैदेखि दिल्लीको क्रिकेट माहोलबाट प्रभावित भए ।
६/७ वर्षको हुँदा उनलाई बुबाले पार्कमा लगेर क्रिकेट सिकाउँथे । ८ वर्ष भएपछि एकेडेमीमै भर्ना गरिदिए । हाल उनी नयाँदिल्लीको क्रिकेट कोचिङ उपाध्याय एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् ।
नेपालमा हुने तथा नेपालले खेल्ने प्रतियोगिताका लागि आउँछन्, प्रतियोगिता सकिएपछि उनी बाबुआमासँग बस्न भारत नै पुग्छन् । ‘भारतमा सिक्छु अनि नेपाल आएर खेल्छु । अहिले म जे छु, प्रशिक्षण नगरेको भए यहाँ आइपुग्दिनथें’, उनले भने ।
प्रशिक्षक राहुल शर्माको सुझाव अनुसार अर्जुनले पहिलो पटक १३ वर्षको हुँदा नेपालमा यू–१६ को गण्डकी प्रदेशको छनोट खेल खेलेका थिए ।
२०७५ सालमा त्रिवि मैदान कीर्तिपुरमा भएको यू–१६ क्रिकेट लिगमा उनले गण्डकी प्रदेशबाट खेलेका थिए । त्यतिबेला ३ खेलमा १४२ रन बनाएका अर्जुन उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए ।
अर्जुनको क्रिकेट यात्रा
अर्जुनले नेपालका लागि खेलेको पहिलो खेल सन् २०१९ अप्रिलमा थाइल्यान्डमा भएको एसिसी इस्टर्न जोन यू–१६ प्रतियोगिता हो । त्यतिबेला उनी जम्मा १३ वर्षका थिए ।
उक्त प्रतियोगितामा म्यानमारविरुद्ध १५ बलमा ४ चौकासहित २६ रनमा अविजित रहेका अर्जुनले त्यही खेलबाट नेपाली क्रिकेटप्रेमीको ध्यान तानेका थिए ।
दोस्रो खेलमा मलेसियाविरुद्ध ४७ बलमा १ चौकासहित १६ रन जोडे । त्यसपछिका खेलमा भने उनले मौका पाएनन् । उनले डेब्यु गरेको प्रतियोगितामा नेपाल च्याम्पियन बनेको थियो ।
नेपाली क्रिकेटमा आएको पछिल्लो डेढ वर्षमा अर्जुनले एकपछि अर्को उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनले गत फागुनमा आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रन र गत हप्ता भएको एसीसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४२ रन जोडे । फाइनलमा पनि यूएईविरुद्ध ७८ बलमा ४ चौका प्रहार गर्दै ५५ रनको अर्धशतकीय पारी खेले ।
अर्जुन चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)मा पोखरा राइनोजको टिममा थिए । त्यतिबेला भने उनले खेल्ने मौका पाएनन् ।
ओपनिङमा सम्भावना
यू-१६ इस्ट जोन कपबाट नै ओपनिङको भूमिकामा अब्बल सावित गरेका अर्जुन एकदिवसीय फम्र्याटमा ओपनर ब्याटरको सम्भावना भएका खेलाडी हुन् ।
क्रिकेट एकेडेमीमा उनलाई प्रशिक्षक राहुल शर्माले ब्याटरको भूमिका दिए । अझ उनको शालीन आनीबानी र धैर्य गरेर खेल्न सक्ने क्षमता हेरेर शर्माले ओपनिङमा ब्याटिङ गराए ।
‘मलाई सिकाउने बेला नै राहुल सरले ओपनरमा तिमी राम्रो गर्न सक्छौं भनेर यही नै पोजिसनका लागि तयार बनाउनुभयो’, उनी भन्छन् ।
सम्हालिएर खेल्न सक्ने अर्जुन ठूला सट भन्दा टिकेर खेल्ने ब्याटरका रुपमा चिनिन्छन् । उनलाई यसै कारण पनि एक दिवसीय फर्म्याटको क्रिकेट खुब मन पर्छ ।
‘मलाई वान डे फर्म्याट नै मन पर्छ । मलाई यू-१६ बाट अहिले पनि कप्तान, कोचले ५० ओभर खेल्ने हो भन्नुहुन्छ’, उनी भन्छन् ।

