Type Here to Get Search Results !

मालपोतका तत्कालीन अधिकृतसहित ७ कर्मचारी विरुद्ध मुद्दा दायर



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन ५ जना मालपोत अधिकृत, १ जना कम्प्युटर अधिकृत, १ जना नायब सुब्बालाई राजस्व चुहावटको आरोपमा ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर भएको छ ।

मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध राजस्व चुहावटको आरोपमा २ करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताउनुभयो ।

तत्कालीन अधिकृत मिश्रले आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय, पर्साको फाँट ‘ग’ को एकै रजिष्ट्रेशन नम्बरको एक भन्दा बढी लिखत पारित गरेको र सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिष्ट्रेशन लिखत दर्ता किताबमा प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा दर्ता किताब प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भएका लिखतबाट सङ्कलन भएको सो रकम भ्रष्टाचार गरेकाले २ करोड ९ लाख ३१ हजार ६४७ को दोब्बर रकम जरिवाना गर्न माग दाबी लिई विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको थपलियाले बताउनुभयो ।

यसैगरी, सोही मालपोत कार्यालयका तत्कालीन अधिकृत भूप बहादुर बोगटीले आर्थिक वर्ष २०७१/७२ मा सोही जग्गामा लिखत दर्ता किताबमा प्रविष्टि प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भई सङ्कलन भएको १ करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ भन्दा दोब्बर जरिवाना हुन माग दाबी लिई भ्रष्टाचारको आरोप लागेको आयोगले जनाएको छ ।

सोही आरोपमा तत्कालीन मालपोत अधिकृत गोपाल ढुङ्गानाविरुद्ध ३५ लाख ४५ हजार ९५० रुपियाँभन्दा दोब्बर जरिवाना हुन समेतको माग दाबी लिई भ्रष्टाचार आरोप लागेको छ ।

आयोगका अनुसार तत्कालीन अधिकृतहरू पदम प्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार ६०० रुपियाँको दोब्बर, अधिकृत चन्द्र बहादुर भण्डारीविरुद्ध २ लाख ४४ हजार ४६२ भन्दा दोब्बर जरिवाना, अधिकृत कमोद तिवारीविरुद्ध १ करोड ४१ लाख ४७ हजार १७१ भन्दा दोब्बर जरिवाना सहित माग दाबी लिई भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सोही कार्यालयमा तत्कालीन नायब सुब्बा किरण प्रसाद उपाध्यायविरुद्ध ५ करोड ५५ लाख १९ हजार ९७५ रुपियाँको दोब्बर जरिवाना हुन माग दाबी लिई भ्रष्टाचार आरोपको मुद्दा दायर भएको आयोगले जनाएको छ ।

यस मुद्दामा उपाध्यायका अंश खाने अंशियार छोराहरू राज किशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपति प्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्यायविरुद्ध सो रकम असुलउपर गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ ।

पर्सा मालपोतका तत्कालीन सबै कर्मचारी अवकाश भइसकेको र दोब्बर जरिवाना सहित मुद्दा दायर भएका नायब सुब्बा किरण प्रसाद उपाध्यायको मृत्यु समेत भइसकेको अवस्थामा उनका छोराहरू विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today