Type Here to Get Search Results !

ऐतिहासिक पदक विजेता पलेशाको भव्य स्वागत

 चीनको हान्झाउमा भएको चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दोकी पलेशा गोवर्द्धनकाे भव्य स्वागत गरिएकाे छ ।



राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले पलेशालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । विमानस्थलबाट पलेशासहितको तेक्वान्दो टोलीलाई त्रिपुरेश्वरकाे राखेपमा लगिएको थियो ।

पलेशाले केही दिनका लागि चीनकाे शङ्घाईबाट नेपाल आएकी हुन् । उनी शङ्घाईकाे तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनियरिङको स्नातक तहमा अध्ययनरत छिन् । पलेशा नोभेम्बर ७ तारिखमा शङ्घाई फर्किँदै छिन् ।

पलेशा शङ्घाईबाटै एसियाली पारा खेलकुदमा सहभागी हुन हान्झाउ गएकी थिइन् । कात्तिक ७ गते भएको महिला के–४४ क्याटगोरीको ५७ केजीमुनि क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा काजाकिस्तानकी कमिल्यासँग पराजित भए पनि रिपेचेजमा 'वाई' पाएपछि पलेशाको कास्य पदक पक्का भएको थियो ।

पलेशाले जितेको पदक पारा एसियाली खेलकुदमै नेपालले जितेको पहिलो पदक हो । नेपालले पहिलो संस्करणदेखि नै एसियाली पारा खेलकुदमा सहभागिता जनाए पनि तेक्वान्दो भने चौथो संस्करणदेखि मात्र समावेश गरिएको हो ।

सदस्य–सचिव घिसिङले पलेशालाई नेपाललाई ऐतिहासिक पदक दिलाएकोमा बधाई दिँदै राष्ट्रले अझ धेरै आशा गरेको बताउनुभयाे ।

ऐतिहासिक पदक विजेता पलेशाले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘म पढ्न चीन जाँदा पढाइँ र तालिमलाई सँगै लाने सोचेको थिएँ । तर सोचेभन्दा गाह्रो भयो । यहाँ (नेपाल)  हुँदा परिवार, गुरु सबैले सहयोग गर्नु हुन्थ्यो । त्यही भएर सजिलो पनि भएको थियो । त्यहाँ (चीन) सबै आफैँले गर्नुपर्ने थियो । तर मैले हार मानिनँ । जसरी पनि पढाइँसँगै तालिमका लागि पनि समय मिलाएँ । खेलकाे दिन 'नर्भस' पनि थिएँ । तर जसरी भए पनि जित्नपर्छ भन्ने चाहिँ थियाे । किनकि एसियन पारा गेम्समा अहिलेसम्म नेपालले पदक जितेको थिएन । पहिलो पदक जितेकोमा खुशी थिएँ । तर मेरो लक्ष्य चाहिँ स्वर्ण पदक नै थियो । पदक तालिकमा राष्ट्रलाई शून्यको अवस्था हुनबाट जोगाएकोमा एकदमै खुशी छु ।’

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today