‘तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो, बरहम बाबा झिझिया पर होइयौ ने सवार, अबोधबा बालक तोहर किछियो ने जनैछौं हो’
यति खेर मधेश झिझियाको सुमधुर सङ्गीतले गुञ्जायमान हुनुपर्नेमा झिझियाको मौलिकतालाई बलात्कार गरिरहेको महसुस गर्न सकिन्छ ।
मधेशमा वडो धुमधामका साथ मनाइने झिझिया यति खेर मधेशको वातावरण नै डर्टी बनाईदिएको अवस्था हेर्न सकिन्छ । झिझिया एक परम्परा मात्र नभई तराई मधेश र मिथिला क्षेत्रको “ईमोशन” पनि छ । ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो, बरहम बाबा झिझिया पर होइयौ ने सवार, अबोधबा बालक तोहर किछियो ने जनैछौं हो’ लगायतका गीतले यतिबेला मन्त्रमुग्ध बन्ने गरेका मधेशमा अहिले “डर्टी झिझिया” को हालीमुहाली देखिएको छ। झिझिया पर्व हिन्दु धर्म मान्ने किशोर–किशोरी तथा स–साना बाल–बालिकाहरुले हरेक वर्ष धुमधामका साथ मनाउने गरेका छन् ।
विभिन्न सांस्कृतिक पर्वले धनी मधेशका जिल्लाहरूमा झिझियाको ऐतिहासिक महत्व बडो गज्जबको छ । दशैँको उल्लाससँगै परम्परागत झिझिया गीतले मधेशका जिल्लाहरू गुञ्जायमान हुने गर्दथ्यो तर, आधुनिकताको आडमा यही समाजका अचेत किशोरी, युवति महिलाहरुले फिल्मी बनाएर “डर्टी झिझिया” बनाईदिएको छ ।
दशैँमा झिझियाको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै झिझिया भएकाले युवायुवतीसमेत झिझियामा झुम्ने गरेको पाइन्छ । झिझिया नाच मधेशको मौलिक नाचको रुपमा लिइन्छ र विशेष रुपमा यस नाचमा ग्रामीण भेगका किशोर–किशोरी तथा स–साना बालबालिकाहरूले एक समूह बनाएर सामूहिक रुपमा झिझिया गीत गाउने तथा नृत्य गर्ने गर्दछन् । पछिल्लो समय यसको महत्व दिनानुदिन घटदै गएको छ ।
प्रविधिसँगै झिझियाको प्रचार प्रसार र मौलिकता थप उजागर हुनुपर्नेमा टिकटोक, रिल्स, फेसबुक, युटुबमा झिझियाको मौलिकतालाई बीच चौराहामा मात्र नभई शक्तिपीठहरुको प्राँगनमा पनि बलात्कार गरेको भन्न सकिन्छ । झिझिया खेल्ने आफ्नो तौर तरिका, आफ्नो मौलिक गीत हुँदाहुँदै अब झिझियामै आधुनिकता थपेर अश्लिल शब्द, अश्लिल हाउभाउको म्यूजिक, अर्थको अनर्थ लगाएर शब्दाबलीको गीतमा नाच्न थालेको देखिन्छ ।
झिझियालाई डर्टी खास गरी टिकटोक प्रयोगकर्ताहरुले बनाएको पाईन्छ । त्यसभन्दा बढी त बेसुराह गायकहरुले यसलाई आधुनिकता र कमाई खाने भाँडोको रुपमा प्रस्तुत गर्दा धार्मिक परम्परा, सँस्कृतिलाई सीधा हमला गरेको पाईन्छ । यद्यपी, यसप्रति कुनै धार्मिक सँघसँस्थाहरुले आवाज भने उठाएका छैनन् ।
अश्लिलतालाई झिझियासँग जोडेर गीत, म्यूजिक बनाउँदा पुरानो मौलिकतामाथि सीधा प्रहार भएको छ । “तोहरे भरोसे ब्रहम बाबा झिझरी बनेलियै हो” गीतमा लुकेको असल इमोशनलाई अब “पाँचे मिनट छौरा रुक ना, हम झिझिया खेलैछी” 'देबरा झिझिया फोरना बा' सम्म बनाईदिएको छ । पुरानो झिझियाको गीतलाई मुकाबला गर्न सक्ने अहिलेसम्म कुनै गीत भने आएको छैनन, यद्यपी, पुरानोलाई दबाउनको लागि भएपनि नयाँ नयाँ नक्कली गायकहरुले यसलाई तोडमोड गरेर बनाउने गरिन्छ ।
केही महिना अगाडी भारतको बलिवुडमा आएको हिन्दी फिल्म “आदिपुरुष” मा धर्म सँस्कृतिलाई अर्को तवरबाट प्रस्तुत गरेपछि विश्वव्यापी विरोध गरियो । विरोधपछि निर्माणकर्ताले सार्वजनिक माफी पनि माग्यो । तर, झिझिया जस्तो सँस्कार सँस्कृति र परम्परालाई तोडमोड गरी धरोधरमाथि अश्लिल शब्दको बमबारी गर्दा यहाँका बुद्धिजीवीहरु चुप्पी लादेका छन् ।
खास गरी ग्रामिण भेकमा शक्तिपीठमा, मठ मन्दिरमा झिझियाको नाममा अश्लिल ओरकेष्ट्रा सम्म गरिरहेको देखिएको छ । अश्लिल हाउभाउको गीतमा नाचेर झिझिया खेलेको बताईन्छ र गाउँलेहरु, शिक्षकहरु, विद्यार्थीहरु, जेष्ठ नागरिक, समाजका अगुवाहरु रसपान गरिरहँदा घोर कलियुग आएको भनेर महसुस गर्न थालिएको छ ।
झिझिया किन मनाइन्छ ?
दशैँ सुरु भएसँगै मिथिलाञ्चलका घरआँगनमा झिझियाको विशेष रौनक छाएको छ । मधेशका अधिकांश मठमन्दिर र दशैँका लागि बनाइएका पण्डालमा साँझमा महिलाले झिझिया नृत्य गर्ने गरेका छन् ।
मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ। यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ । दशैँका वेला बोक्सी (डाइन) ले मसान सिद्धि तथा तन्त्रमन्त्र अनुष्ठान गरी मारक शक्ति प्राप्त गर्छन् । यस्तो शक्तिको प्रतिवाद गर्न तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना गरिएको जनविश्वास छ । दशैँमा बोक्सीको उपद्रोबाट आफ्नो परिवार तथा आफ्ना गाउँलाई जोगाउने मान्यता रहे अनुसार झिझिया पर्व मनाउने गरेको पाइएको हो ।
घटस्थापनादेखि सुरु हुने झिझिया नृत्यको तयारी पनि विशेष हुन्छ । झिझिया नृत्य सुरु गर्न पूर्वतयारी गर्नुपर्छ । एउटा वा दुइटा घैंटो किनेर त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ। घैँटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ। त्यसमा गोइंँठा मट्टीतेल हालेर बालिन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ ।
नृत्य गर्नपूर्व झिझियालाई दक्ष ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ । यद्यपी, कानुनले यसलाई मान्यता दिएको छैनन् । डायन वा बोक्सी भन्न नपाईने, धामी झाँक्री हुँदैन भनेर प्रमाणित पनि गर्न खोजिएकै हुन् । नेपालको कानुनमा यसलाई अपराध मानिएको छ ।
‘सभ्य गुरुक बन्दे पाउँ । बजर केवाडी
बजर बान्हो दशो दुआरी
मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।'
यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैंटो राखेर हातको सहारा नलिई नाच्दै ब्रह्मथानमा पुगी पूजा गरेर नाच्छन् ।
ब्रह्मथानमा नृत्य गरेलगत्तै झिझियाको औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घरघरमा गएर नृत्य देखाउने परम्परा छ । झिझियामा रहेका प्वाल तन्त्रमन्त्र गर्नेले गन्न सफल भए उनीहरू तन्त्र सिद्ध गरी निकै शक्तिशाली हुन सक्ने कथन छ । साथै, प्वाल गन्न सफल भय झिझिया बोकेकी महिलाको मृत्यु हुने जन विश्वास रहेको छ। त्यसैले प्वाल गन्न नसकून् भनी झिझिया टाउकोमा राखेपछि महिला निरन्तर नाच्छन् । नाच सक्नेबित्तिकै दियो निभाएर झिझिया राखिन्छ। महिलाद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रूपमा लिइन्छ ।गाउँघरमा झिझियामा १५–२० जनाको समूहले पारम्परिक वाद्यवादन ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन् । घरघरमा गई सामूहिक नृत्य गर्ने र घरधनीले कोसेली स्वरूप पैसा वा चामलदाल सहयोग दिने चलन छ । अचेल आयातित डिजे गीतमा टाउकोमा प्वाल पारिएको भाँडा लिएर झिझिया दर्साउने प्रयासलाई अगाडी बढाएको छ । पहिले गल्ली गल्ली / घर घरमा घुमेर खेलिने झिझिया अहिले स्टेज बनाएर झिझियाको स्वरुप दिएको छ ।
यो नृत्य सातौँ शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतिका जानकारहरू बताउँछन् । झिझिया नृत्यको महत्वपूर्ण पक्ष यसको गीत हो । यस्तै गीतको धुनसँगै झिझिया नृत्य सुरु हुन्छ । दशैँको आगमनसँगै दुष्ट शक्तिलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तथा तान्त्रिक नृत्य झिझिया हो ।
नृत्यसँगै गाइने गीतमा गाली पनि गरिन्छ। गाली गरियो भने दुष्ट शक्तिको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुने विश्वास छ। झिझियाको लोक सांस्कृतिक पक्षलाई संरक्षण संवर्धन गर्नु उचित देखिन्छ। यो नृत्यमा दुष्ट शक्तिलाई गालीका साथै उसलाई धम्क्याउने काम पनि हुन्छ ।
"चलचल गे डैनिया कदम तर,
तोरा बेटाके खैबौ बढमतर"
मिथिला कला संस्कृतिमा यो नाचको विशेषता भइ पनि हाल यसको मौलिकता हराउँदै गएको स्थानीय बासिन्दा बताउँछन् । झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीर्घायुको कामना गरिएको हुन्छ ।
विजया दशमीको घटस्थापना देखि नैं सुरु हुने यो झिझिया पर्व दशमीको दिन सम्पन्न हुने गर्दछ । झिझियामा मधेशको इतिहास, संस्कृति र साहित्य छ । अहिले मनोरञ्जनका रूपमा मात्रै झिझिया खेलिन्छ तर झिझिया इतिहास र संस्कृतिसँग जोडिएकाले अहिलेका पुस्ताले यसको महत्व बुझ्न जरुरी छ ।


