Type Here to Get Search Results !

प्रिन्सिपल सर्राफको हत्या उनको प्रेमिकाका अर्का ब्वाइफ्रेण्डले गरेको खुलासा


 बाराको कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक (प्रिन्सिपल) रुपेश सर्राफको हत्या उनकै प्रेमिका र उनका ब्वाइफ्रेण्डको संलग्नता रहेको खुलेको छ । घटनामा संलग्न एक महिलासहित ६ जना पक्राउ परेको र उनीहरूले दिएको बयानका आधारमा सर्राफको हत्याको कारण खुलेको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार प्रिन्सिपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का ब्वाइफ्रेण्डले सर्राफको हत्या गरेका हुन् ।

बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एक जना पुरुषसँग पनि रिलेसनसीपमा थिइन् । ती पुरुषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार दबाब दिँदै आएका थिए । तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।

महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल नभएको एसपी काफ्लेले बताए ।

सर्राफ हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।

घटना संलग्न पाँच जना पुरुष र एक जना महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाको परिचय नखुलाएको प्रहरीले आज मङ्गलवार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

सोमबार दिउँसो साढे १२ बजेतिर स्कुल नजिकै सडकमा मोटरसाइकलमा घर तर्फ जाँदै गरेका सर्राफमाथि भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिहरूले गोली चलाएका थिए ।

३५ वर्षीय सर्राफको घाँटी, टाउको र छातीमा गरी तीन राउन्ड गोली लागेको थियो । गोली लागेर घाइते भई ढलेका उनलाई स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए । त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा हस्पिटलमा लागिएको थियो । त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today