Type Here to Get Search Results !

केपी ओलीको जीवनमा दुर्गा अधिकारी र दुर्गा प्रसाईं

 दुर्गा अधिकारी र दुर्गा प्रसाईं– थर नमिले पनि उनीहरुको नाम मिल्छ । कुनै बेला पार्टी पनि मिल्थ्यो । घर र दलको वतन खोज्दै जाँदा दुवैलाई जोड्ने एउटै कडी भेटिन्छन्– केपी ओली ।

दुर्गा अधिकारी २०२८ सालको झापा विद्रोहमा लाग्दा उनका जिल्ला पार्टी सचिव बनेका ओली अहिले नेकपा एमालेका केन्द्रीय अध्यक्ष छन् । दुईपल्ट प्रधानमन्त्री भइसके । दुर्गा अधिकारीले पार्टी छाडेको धेरै वर्षपछि ओली अध्यक्ष रहेको पार्टीमा केन्द्रीय सदस्य बनेर केही समय साथै रहे दुर्गा प्रसाईं ।दुर्गा अधिकारी आजकल झापा चारआलीस्थित पाथीभरा मन्दिरका पुजारी छन्, दुर्गा प्रसाईं मेडिकल व्यवसायी । ओलीको राजनीतिक यात्रामा कुनै बेला दुवै दुर्गाको अलग–अलग उपयोगिता थियो । अहिले दुवै दुर्गा ओलीसँग छैनन् । यसलाई ‘सकारात्मक’ कोणबाट यसरी पनि भन्न सकिन्छ– ओली अहिले दुवै दुर्गासँग छैनन् ।हिजो शनिबार एमाले अध्यक्ष ओलीले यी दुई दुर्गामध्ये एकबारे प्रधानमन्त्री प्रचण्डसँग लामै कुरा कुरा गर्नुपर्‍यो । तीमध्येको एउटा विषय आइतबार बिहानको माओवादी केन्द्रको पदाधिकारी बैठकमा छलफलको विषय बनेको थियो ।कोही अलमलमा नपरुन्, ओली–प्रचण्डबीच दुर्गा अधिकारीबारे पक्कै कुरो भएन । माओवादी युद्धभित्र यस्ता ‘दुर्गा’ कति छन् कति, जसलाई प्रचण्डले त के, विप्लवले समेत सम्झेर साध्य छैन ।केही वर्षअघि स्वयं प्रचण्ड, माधव नेपाललगायतसँग धेरै उतारचढाव बेहोरेर शक्तिमा एक हदसम्म टिकिरहन सफल नेता हुन् ओली । आखिर दुर्गा प्रसाईंका अनर्गल प्रचारले उनी किन प्रभावित बन्न पुगे ?माओवादी केन्द्रका एक पदाधिकारीले यो पंक्तिकारलाई टेलिफोनमा बताए अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले बैठकमा भने, ‘दुर्गा प्रसाईका अराजकताले सबै सीमा नाघ्यो भन्दै हुनुहुन्थ्यो केपीजी । कम्बोडियाको टेलिकममा आफूले (ओलीले) लगानी गरेको भन्दै गलत हल्ला फिँजाइरहेको छ । कतिपय मान्छेले उसका कुरा नबुझी पत्याउँछन् ।

प्रचण्डले बैठकमा सुनाएअनुसार ओलीले उनीसँग भने, ‘कि त मैले गैरकानुनी ढंगले त्यसरी लगानी गरेको प्रमाणित हुन्छ भने मलाई सजाय गर्नुपर्‍यो । यो प्रमाणित हुन सक्दैन भने त्यसरी हल्ला फिँजाउनेलाई सरकारले कारबाही गर्नुपर्‍यो । अहिले खुब राजावादी भएर गणतन्त्रका नेताहरुलाई खुइल्याउन हिँडेको छ ।’

ओली त्यति कमजोर चित्तका नेता होइनन्, जसलाई एउटा व्यक्तिका सीमाहीन बोली–व्यवहारले प्रभावित गर्न सकोस् । केही वर्षअघि स्वयं प्रचण्ड, माधव नेपाललगायतसँग धेरै उतारचढाव बेहोरेर शक्तिमा एक हदसम्म टिकिरहन सफल नेता हुन् ओली । आखिर दुर्गा प्रसाईंका अनर्गल प्रचारले उनी किन प्रभावित बन्न पुगे ?

दुर्गा प्रसाईंसँग कुनै सेना छैन, कार्यकर्ता पनि खासै छैनन् । तर उनीसँग युट्युबे छन्, जसले जोसुकैको आनन्दमय जीवनमा घुसेर अफवाहको आगो सल्काउने क्षमता राख्छन् । दुर्गा आफैं टिभी, युट्युबमा उभिएर अपुष्ट उछित्तो काढ्छन् ।

विगतमा क्रमशः प्रचण्ड, ओली हुँदै अन्तिम शाह राजा ज्ञानेन्द्रलाई समेत प्रभावमा पारेर प्रसाईले व्यवसायलाई अपारदर्शी ढंगले उकासे । मारवाडी लगायत समुदायबारे साम्प्रदायिक भड्काउका भाषा बोल्छन् । दुर्गा प्रसाईले धुलिसात् पारेको ‘अभिव्यक्ति स्वतन्त्रता’ सँग स्वयं लोकतन्त्र डराउने परिस्थिति बन्दैछ ।

प्रचण्डले आज आइतबारको बैठकमा बताए अनुसार विगतमा माओवादी छाडेर प्रसाईं एमालेमा बस्दा आफूविरुद्ध विभिन्न प्रचारबाजी गर्दा एमाले पक्षले आनन्द मानेर सुनेको कुरो पनि उनले ओलीसँग उठाए ।ओलीले नेताहरुको चरित्र हत्या गरेरमात्रै यो व्यवस्था उल्टाउन सकिन्छ भन्ने कतिपयले ठानेको हुनाले अहिले विगतमा कसले कुन कुरा मन पराएर सुन्यो भन्ने कुुरो नझिक्न आग्रह गरे ।

पोहोर आम चुनावसम्म दुर्गा प्रसाईं उनै ओलीलाई हजुरबा पुकार्थे । नेकपा (नेकपा) को ‘महान एकता’ मा दुर्गा प्रसाईलगायत व्यवसायीको ठूलै योगदान थियो । दुर्गाले ओली–प्रचण्डलाई घरै डाकेर चरेसको थालमा मार्सीधानको भात खुवाएको प्रसंग चर्चितै भइहाल्यो ।

दुई वर्षअघि २०७८ मंसिरमा चितवनमा आयोजित एमाले दसौं महाधिवेशनमा दुर्गा प्रसाईले केन्द्रीय सदस्य बन्ने चाहना राखेका थिए । सौराहा बन्दसत्र स्थलमा पुग्दासम्म उनलाई बन्दसत्र भनेको के हो थाहा रहेनछ । पार्क सफारी होटलको चउरबाट दुई तलामाथि बार्दलीमा बसेका ओलीलाई हजुरबा भनेर उनले गरेको साष्टांग दण्डवत् अहिले पनि हामी संवाददाताहरुको आँखा अघिल्तिर झलझली छ ।

महाधिवेशनमा केन्द्रीय सदस्य हुन नपाए पनि प्रसाईं पार्टी बैठकबाट मनोनित भइहाले । ओलीले माओवादी छाड्दै आफूसँग आएका प्रसाईंलाई केन्द्रीय सदस्य बनाएर पुरस्कृत गर्दैगर्दा डा. दीपकप्रकाश भट्टजस्ता होनहार नेता कमिटीमा पर्न सकेनन् । भट्ट जसले कांग्रेसका रमेश लेखकजस्ता शक्तिशाली नेतालाई ०७४ को आम चुनावमा हराउन सफल भएका थिए । उनी छुटे, दुर्गा प्रसाईं अटाए ।

ओलीले उपेक्षा गरे पनि भट्ट एमालेमै छन् । ओलीले पुल्पुल्याएका दुर्गा प्रसाईं हिजोआज के गर्दैछन् भनी व्याख्या गर्नै पर्दैन । ओली उनीमाथि कारबाही गरिदिन प्रचण्ड गुहार्दैछन् ।

जुन बेला ओली शक्तिमा छाइसकेका थिएनन् । त्यसबेला उनको आडभरोसा बन्न पुगेका थिए, झापाका अर्का दुर्गा । अर्थात् दुर्गा अधिकारी । लेखक निरोज कट्टेलले लेखेको ‘२०२८ : झापा विद्रोहको अन्तर्कथा’ नामक भर्खरै प्रकाशित पुस्तकमा दुर्गा अधिकारीबारे लामै अध्याय छ ।इलाम शान्तिपुरका दुर्गा अधिकारी झापा झरेर कालान्तरमा केपी ओली, सीपी मैनालीलगायत नेताका कट्टर कम्युनिस्ट कार्यकर्ता बन्लान् भन्ने कल्पना अरु त के, उनी स्वयंको थिएन । साना काँटीका दुर्गाको नामलाई जेलमा प्रहरीले ठूलो दुर्गा अधिकारी नामकरण गरिदिए । किनभने हेर्दा उनीभन्दा ठूला, तर उमेरले साना अर्का दुर्गा अधिकारी जेलमै आइसकेका थिए ।

जग्गाजमिन र थोरै निजी सम्पत्ति जोड्ने आशमा इलामबाट झापा झरेका दुर्गा अधिकारीले कम्युनिस्ट राजनीतिमा लागेर निजी सम्पत्ति उन्मुलनको भाष्य मन पराए ।

संसारमा दुःखको स्रोत भनेकै निजी सम्पत्ति हो भनेर नेता कमरेडहरुले पढाएको कुरो उनलाई जँच्यो । उनी गरिब हुनु भनेको पूर्वजन्मको खेल होइन, सामाजिक अन्यायको परिणाम हो भन्ने स्वीकार्न थालेका थिए ।समयले दुर्गालाई ओली, मैनालीका साम्यवादी सपनाबाट च्यूत बनाउँदै चारआली झापाछेउको मन्दिरमा पुजारी बनायो । उनी गरिब हुनुलाई प्रारब्धको खेल होइन, वर्गीय शोषणको नतिजा मान्थे । उनी फेरि प्रारब्धलाई नै दोष दिने अवस्थामा आइपुगे ।व्यक्तिहत्याको राजनीतिमा संलग्नताको अभियोगमा दुर्गा अधिकारीले जेलमा एक दशक गुजारे । पत्नीले अर्को बिहे गरिन् । सन्तानलाई नजिकका आफन्तले बनिबुतो गरेर हुर्काए । जेलबाट मुक्त भएर आउँदा उनीसँग आफ्नो भन्नु केही थिएन, कोही थिएन । आफ्नो भनिएको पार्टी पनि असफल झापा विद्रोहसँगै रुपान्तरित भइसकेको थियो । सीपी, राधाकृष्ण मैनाली, केपी ओली, धनेन्द्र बस्नेत आदि कोअर्डिनेशन केन्द्र (कोके) हुँदै नेकपा मालेमा लागिसकेका थिए ।

समयले दुर्गालाई ओली, मैनालीका साम्यवादी सपनाबाट च्यूत बनाउँदै चारआली झापाछेउको मन्दिरमा पुजारी बनायो । उनी गरिब हुनुलाई प्रारब्धको खेल होइन, वर्गीय शोषणको नतिजा मान्थे । उनी फेरि प्रारब्धलाई नै दोष दिने अवस्थामा आइपुगे ।

दुर्गाजस्तै धेरै मानिसहरुको कायाकल्प अनेक किसिमले भयो । आन्दोलनमा कोही मैनाली, ओली बन्छन्, कोही दुर्गा अधिकारी, डेकेन्द्र राजवंशी बन्छन् । कतिले बिर्से, कतिले सम्झरहेका होलान्, राजवंशीले एमालेको तत्कालीन मूख्यालय बल्खुमा झुण्डिएर जीवन त्यागेका थिए ।

सिधा आँखाबाट हेर्दा यसमा केपी ओलीको के दोष ? आन्दोलनले प्रत्येकलाई सपना भरिदिन सक्छ, तर प्रत्येकको ज्यानको जिम्मा नेता विशेषसँग नहोला । ओली साथी बिर्सिहाल्ने व्यक्ति होइनन् । उनले ०७२ सालको वैशाख १ गते बालकोट निवासमा सीपी मैनाली, राधाकृष्ण लगायत नेतासँगै दुर्गा अधिकारीसँगै झापा आन्दोलनका योद्धाहरु डाकेर नयाँ वर्ष मनाए ।

त्यो त एक दिनको सम्झना थियो । दुर्गा अधिकारी फर्केर उही पाथीभरा मन्दिरमा पुजारी रहे । बीचका यी आठ वर्षमा दुर्गा प्रसाईंकै चर्चा रह्यो, जसका लागि ओलीले प्रा. डा. गोविन्द केसीको अनशनको प्रतिवाद गर्न पुगेका थिए । पंक्तिकारसँगको यो अन्तर्वार्तामा समेत ओलीले प्रसाईको बलियो पक्षपोषण गरेका थिए । अचेल केसी के गर्दै होलान्, तर ओलीलाई भने दुर्गा प्रसाईंको कारण आजित हुनुपरेको छ ।

दुर्गा अधिकारी अहिले पनि उही नियतिमा छन् । ओलीले उनलाई तारन्तार भेटिराख्नुपर्ने आवश्यकता अब नहोला पनि । उनी ओलीको निर्वाचन क्षेत्रका मतदाता पनि होइनन्, जसको प्रभाव वा असर दुर्गा प्रसाईं जति रहोस् ।

समयले पार्टीहरुलाई निर्वाचन क्षेत्रभन्दा पर देख्न नसक्ने बनाइदिएको छ । हामी यस्तो बेलामा छौं, जहाँ नेतृत्वले ‘गल्ती’ गर्दैन । सायद यो ‘समय’ कै दोष हो, अघिसम्म माला बोकेर एयरपोर्टको रनवेसम्मै धनुष्टंकार गर्न आउने व्यक्ति नै अब मुक्का उज्याउँदै आउँछ । कोहीलाई नेताले प्रयोग गर्छन्, कोहीले नेतालाई । यस्तोमा ओलीको ‘कारबाही माग’ प्रचण्डले पूरा गर्न सक्ने ताकत या ल्याकत दुवै नहुन सक्छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today