Type Here to Get Search Results !

खसी चोरेर धरौटीमा छुटेका कालु पुन: बोका चोरेको आरोपमा पक्राउ

 लमजुङमा खसी चोरी गरेको अभियोगमा साढे दुई महिना अघि पक्राउ परेर धरौटीमा छुटेका एक युवक बोका चोरी गरेको आरोपमा फेरी पक्राउ परेका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्व्होलासोथार गाउँपालिका-४, भुजुङका ३४ वर्षीय कालु गुरुङले मध्यनेपाल नगरपालिका-६ का शिरोमणि भट्टराईको २ वटा बोका चोरेको आरोपमा पुन: प्रहरीले पक्राउ गरेको छ ।

असोज ३ गते बुधबार रातीदेखि बोका हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा मध्यनेपाल नगरपालिका-५ रिङ्नेको जंगलमा बोका फेला परेको थियो। आरोपित गुरुङले उक्त बोका बिक्री गर्नका लागि तनहुँको दमौलीतर्फ लैजाँदै गर्दा प्रहरीले पिछा गरेको थाहा पाए पछि उक्त बोकाहरु जंगलमै छाडेर फरार भएका थिए।उनलाई मध्यनेपाल नगरपालिका-५ पराजुलीबेसीबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए। आरोपित गुरुङ उपर जिल्ला अदालत लमजुङबाट चोरी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर-९ साम्दी बस्ने शान्ति बहादुर बस्नेतको खोरबाट एउटा खसी र सोही ठाउँ बस्ने गोविन्द विकको घरबाट एउटा खसी चोरी गरी बिक्री वितरण गर्न बेसीशहरबाट डुम्रेतर्फ जाँदै गरेको बसको डिक्किमा राख्दै गर्दा गुरुङ पक्राउ परेका थिए।

त्यसपछि अदालतमा मुद्दा दर्ता गरी फैसला नहुञ्जेलसम्मका लागि ५० हजार रुपैयाँ धरौटी तिराएर तारेखमा छाडिएका गुरुङ पुनः बोका चोरेको आरोपमा पक्राउ परेका हुन्। यसअघि  गुरुङ लाई खसी चोरेको आरोपमा प्रहरीले असार २४ गते पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार मुलुकी अपराध संहिता, २०७४ अनुसार चोरी गर्ने व्यक्तिलाई ३ देखि ५ बर्षसम्म कैद र ३० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।


Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today