१ माघ २०७९ का दिन काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन–एएनसी जहाज पोखरामा दुर्घटनामा परेपछि गठित जाँच आयोगले बिहीबार फाइनल प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बुझाएको छ ।
मन्त्रालय र आयोग दुवैले यो प्रतिवेदन गोप्य राखेका छन् । मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार यो प्रतिवेदन अझै ६० दिन गोप्य नै राखिने भएको छ । त्यस अवधिमा सरोकारवाला निकाय/मुलुकमा यो प्रतिवेदनको मस्यौदा पठाइने र प्रतिक्रिया लिइने छ । यो अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड हो । त्यसपछि भने यो प्रतिवेदन सम्बन्धित निकाय तथा सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिने छ ।यसअघि आयोगले फागुन पहिलो साता दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा मानवीय त्रुटि मुख्य कारण रहेको निष्कर्ष निकाल्दै थप अध्ययन गर्ने बताएको थियो ।जाँचबुझ आयोगका संयोजक नागेन्द्र घिमिरेले प्रारम्भिक प्रतिवेदन ककपिट भ्वाइस रेकर्डरका आधारमा निकालिएको र फाइनल प्रतिवेदनमा भने अन्य विभिन्न पक्षको समेत गहन अध्ययन गरिएको जानकारी दिए ।यद्दपि दुर्घटना के कारणले भयो र आगामी दिनमा यस्तो हुन नदिने के सुझाव दिइयो भन्ने विषय भने अहिले सार्वजनिक गर्न नमिल्ने उनले अनलाइनखबरलाई प्रतिक्रिया दिए ।जहाज दुर्घटना अध्ययनको फाइनल प्रतिवेदन ६० दिन अगाडि सार्वजनिक गर्न नमिल्ने प्रावधान रहेको भन्दै उनले सरोकारवालाबाट सुझाव लिइसकेपछि भने मन्त्रालयले त्यो अगाडि पनि सार्वजनिक गर्न सक्ने उनले बताए । प्रारम्भिक प्रतिवेदनपछि दुर्घटनाको भग्नावशेषबाट ३ सय किलो तौलका विभिन्न उपकरण फ्रान्सको ल्याबमै पुर्याएर अध्ययन गरिएको भन्दै उनले त्यसले दुर्घटनाको कारण यकिन गर्न सहयोग गरेको घिमिरेले बताए ।१ माघ २०७९ का दिन पोखरामा भएको जहाज दुर्घटनामा काठमाडौंबाट ककपिटमा प्रशिक्षक पाइलट कमल केसी र क्याप्टेन अन्जु खतिवडा थिए । जहाजको कमाण्ड भने क्याप्टेन खतिवडासँग थियो । यो जहाज १०ः३२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । जहाज पोखरा पुगेपछि ६ हजार फिटबाट अवतरणका लागि ५ सय फिटको उचाइमा ओर्लिसकेको थियो । ट्राफिक कन्ट्रोलरले जहाजलाई धावनमार्ग ‘थ्रीजीरो’बाट अवतरण गर्न अनुमति दिएका थिए ।
तर, पाइलटले उत्तरतर्फको रनवे ‘वानटू’बाट जहाज अवतरण गराउने गरी अनुमति मागेका थिए । सोही अनुसार एटीसीले अनुमति दिएका थिए । सो बेला पोखराको मौसम खुलेको थियो । बादल थिएन । जहाज १०ः५७ः३२ सेकेन्डमा भुँइमा बजारिएको थियो । त्यसको ठिक अगाडि १०ः५७ः१८ सेकेण्डमा को–पाइलटको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले जहाजको कन्ट्रोल लिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख थियो ।
दुर्घटनाका बेला जहाज धावनमार्गको बेस लेगमा थियो । अर्थात् जहाज मोड्नुपर्ने अवस्थामा थियो । त्यसबेला जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । त्यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज भुँइमा झरेको थियो । यो अवस्था कसरी आयो भन्नेबारे विस्तृत प्रतिवेदनमा उल्लेख भएको बताइएको छ । सो दिन उही चालक दलका सदस्यको यो तेस्रो उडान थियो । जहाज भीएफआर प्रणालीबाट अवतरण गरिरहेको थियो । दुर्घटनामा परि चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो । यो नेपालको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा विनासकारी दुर्घटना हो ।

