Type Here to Get Search Results !

भगवान भराेसे सोनमा स्वास्थ्यचौकी

 महोत्तरीको सोनमा गाउँपालिका–६ स्थित सुन्दरपुर स्वास्थ्यचौकीमा झुन्डिएको अवस्थामा राखिएको ब्यानर र कार्यालय समयमा पनि ढोकामा लाग्ने ताल्चाले संस्था सञ्चालनमा छैन भन्ने बुझाँउछ ।



शनिबार र सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन पनि बन्द रहने स्वास्थ्य चौकीमा दरबन्दीका तीन र एक जना करारका कर्मचारी कार्यरत छन् । ‘बिरामीले खोजेको समय न स्वास्थ्य कार्यालय खुल्छ न त स्वास्थ्यकर्मी नै भेटिन्छन्,’ एक स्थानीयले भने, ‘हाजिर गरेर तलब बुझेकै छन्, किन संस्था खुल्नुपर्‍यो ।’

पानी चुहिने छानो, संस्थामा भएको स्वास्थ्य सामग्रीको लापरवाह देखाउँदै सुन्दरपुर स्वास्थ्य चौकीका कर्मचारी शम्भु साहले संस्थालाई गाउँपालिकाले नहेरिदिँदा यस्तो भएको बताए। स्वास्थ्यकर्मी फिल्डमा गएको बेला बाहेक स्वास्थ्यचौकी सधैंजसो खुल्ने गरेको उनले बताए । स्वास्थ्यचौकीमा दैनिक ३० जनासम्म बिरामी आउने गरेको र जाँचपछि निःशुल्क औषधि दिएर बिरामी घर पठाउने गरेको उनले सुनाए । तर, स्वास्थ्यचौकी खुल्ने र बन्द रहने ठेगान नहुँदा स्थानीय नै स्वास्थ्य जाँच गर्न स्वास्थ्यचौकी नजाने स्थानीय सुकिया देवीले बताइन् । सुन्दरपुर स्वास्थ्य चौकीका कार्यालय प्रमुख अहेव छैठौं लक्ष्मणप्रसाद यादवले आफैंले गाउँमै क्लिनिक सञ्चालन गरेर बसेकाले उनले कार्यालयलाई समय नदिने गरेको स्थानीयको आरोप छ ।

यता कार्यालय प्रमुख यादवले भने आफूले कार्यालय समयमा क्लिनिक खोलेर नबसेको दाबी गरे । ‘म ४ बजेसम्म कार्यालयमै हुन्छु,’ उनले भने, ‘साँझ ५ बजे अगाडि मेरो क्लिनिक सञ्चालन हुँदैन ।’ कोही विपक्षी मानिसले आरोप लगाएको तर स्वास्थ्यचौकी कहिले बन्द नभएको उनले बताए । कर्मचारी नभएकाले कहिलेकाहिँ बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था बाहेक सधैं संस्था सञ्चालनमै रहेको र कार्यालय सहयोगीले भने पनि कार्यालय खोलेर राख्ने उनले दाबी गरे ।

हात्तीपाइले खोप अभियान सञ्चालनको क्रममा संस्थामा बस्ने कर्मचारी नभएकाले बाध्यताले झन्डै एक महिना संस्था बन्द गर्नुपरेको बाध्यता रहेको र दादुरा–रुबेला खोप सञ्चालनका बेला र अन्य तालिम गोष्ठी पर्दा संस्थामा कर्मचारी नहुने भएकाले बन्द गरेर गाउँबस्तीमा पुगेको यादवले स्वीकार गरे ।

सोनामा गाउँपालिकामा ४ वटा स्वास्थ्य चौकी र ४ वटा आधारभूत स्वास्थ्य केन्द्र छन् । पालिकाको स्वास्थ्य शाखा प्रमुख जितेन्द्रकुमार साहले आफू सोनामा आएको धेरै नभएकाले अब सबै स्वास्थ्य संस्थालाई नियम संगत ढंगले सञ्चालन गर्ने बताए । सुन्दरपुर स्वास्थ्यचौकी र मैनटोल आधारभूत स्वास्थ्य उपचार केन्द्रबारे गुनासो आएपछि कार्यालय प्रमुख सहित स्वास्थ्यकर्मीलाई सचेत गराएको उनले बताए । सुन्दरपुर स्वास्थ्यचौकीको नयाँ भवन बनेकाले पुरानो भवनलाई पालिकाले मर्मत नगरेको भए पनि स्वास्थ्यचौकीको च्यातिएको बोर्ड बनाउन र स्वास्थ्य कार्यालयका स्वास्थ्य सामग्रीको उचित सम्भार गर्न भने पालिकाले संस्थालाई आग्रह गरिसकेको साहले बताए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today