दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘जेलर’ बिहीबारदेखि प्रदर्शनमा आएको छ । फिल्म रिलिज भएको पहिलो दिन भारतका चेन्नई, बैंग्लोरलगायत केही सहरमा कर्मचारीलाई बिदासमेत दिइएको थियो । जसका कारण बिहानैदेखि फिल्म हलहरूबाहिर रजनीकान्तका फ्यानहरूको भीड लागेको थियो । दक्षिण भारतमा रजनीकान्तको निकै ठूलो क्रेज छ । फ्यानहरूले उनका फिल्म ‘फस्ट दिन फस्ट शो’ नै हेर्न चाहन्छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार भारतका प्रमुख सहरका सिनेमा हलहरूमा बिहीबार बिहान ६ बजेदेखि नै शो सुरु भएका थिए । फिल्म विश्वभर ९ हजारभन्दा बढी हलमा प्रदर्शनमा आएको जनाइएको छ । १६९ मिनेट लामो फिल्ममा रजनीकान्त रिटायर्ड जेलरको भूमिकामा छन् । पछिल्लो दुई वर्षमा यो उनको दोस्रो फिल्म हो । एक्सन–कमेडी जनराको फिल्मलाई नेल्सन दिलीपकुमारले निर्देशन गरेका हुन् ।
फिल्ममा रजनीकान्तसँगै मोहनलाल, शिव राजकुमार, ज्याकी श्रोफ, तमन्ना भाटिया, राम्या कृष्णन, सुनिल, विनायकन, बसन्थ रवि, योग बाबुललगायतका कलाकारको अभिनय रहेको छ । भारतमा रिलिज भएसँगै ‘जेलर’ नेपालका पनि क्यूएफएक्स, वान सिनेमाजलगायतका हलमा प्रदर्शनमा आएको छ । आजदेखि भने बलिउडका दुई ठूला फिल्म ‘गदर २’ र ‘ओ माई गड २’ रिलिज भएका छन् ।