मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले ट् याक्टर खरिदमा व्यापक अनियमितता गरेको पाइएको छ । वीरगञ्ज महानगरले साढे ५ लाख भन्सारमा पर्ने ट्याक्टर साढे ९ लाखमा खरिद गरेको छ ।
वीरगञ्ज महानगरले फोहोर संकलनका लागि ३२ वटै वडाका लागि गत वैशाखमा ३२ वटा ट्याक्टर र टेलर खरिद गरेको थियो । एउटा ट्याक्टरका लागि महानगरले ९ लाख ५० हजार र टेलरको २ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको छ । पहिलो पटकको बोलपत्र आह्वान हुँदा ५ वटा कम्पनीले आवेदन दर्ता गराएका थिए । तर, प्राविधिक कारण देखाउँदै महानगरले उक्त बोलपत्र रद्द गरेको थियो । ट्याक्टर खरिदका लागि महानगरले दोस्रो पटक बोलपत्र आह्वान गर्दा एउटा मात्र कम्पनीले आवेदन दिएको थियो । त्यही कम्पनीबाट महानगरले ३ करोड ९२ लाखमा ३२ वटा ट्याक्टर र टेलर खरिद गरेको छ । बजार मूल्य ६ लाख ६० हजार पर्ने ट् याक्टर महानगरले ३ लाख बढी मूल्यमा खरिद गरेको पाइएको छ ।

