Type Here to Get Search Results !

माओवादी बैठक : उत्तराधिकारी तयार गरेर अघि बढ्न उपमहासचिवद्वय पुन र शर्माको प्रस्ताव

 नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले शुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताउनुभएको छ । 

कमलादीमा रहेकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा आयाेजित बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राख्दै उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले सरकारबाट राम्रो कामको थालनी भएको र यसमा सबैको साथ र समर्थन जरुरी रहेको बताउनुभयो।

'भ्रष्टाचारको विरोधमा भएको कामलाई समर्थन र स्वागत गर्नुपर्छ । यो देश, समाज र पार्टीको पनि शुद्धीकरण हो । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनुपर्छ', उहाँले भन्नुभयो, 'प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अभियानमा हाम्रो दह्रो साथ छ ।'

पार्टी पुनःनिर्माणको ऐतिहासिक सम्भावना रहेको बताउँदै उहाँले पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले अबको पार्टी डिजिटल युग सुहाउँदो हुनुपर्ने धारणा राख्नुभयो । वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षका रूप फेरिएको उल्लेख गर्दै उपमहासचिव पुनले अहिलेको मूल मोर्चा सरकार भएको स्पष्ट पार्नुभयो । 

'अहिलेको समस्या विचारभन्दा विधिको हो । विधान सम्मेलनबाट यसलाई हल गरौँ । उत्तराधिकारी तयार पार्ने विधिमा जाऔँ', उहाँले भन्नुभयो, 'अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्णरूपले सहयोग गरेर जान म तयार छु ।' बिरामीका कारण आफू एक वर्षदेखि पार्टीको काममा फर्कन नसकेको भन्दै उहाँले अहिले पूर्णलाभ प्राप्त गरिसकेको पार्टी केन्द्रीय समितिलाई जानकारी गराउनुभयो ।

अर्का उपमहासचिव जनार्दन शर्माले सरकारले थालनी गरेका सुशासनसम्बन्धी काममा आफ्नो पूर्ण समर्थन रहेको बताउनु भयाे । पार्टीलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदा अध्यक्षलाई असहयोग गरेको भनेर प्रचार गरिएको भन्दै उहाँले गुनासो गर्नुभयो ।

पार्टीलाई नागरिकसँग जोड्नुपर्ने, पार्टी पङ्क्ति उत्पादनमा होमिनुपर्ने, भौगोलिक र पर्यावरणीय, जातीय तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गरेर आर्थिक विकास, गरिबी अन्त्य, रोजगारी सिर्जना र आत्मनिर्भताका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

उहाँले भन्नुभयो, 'पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने सङ्कल्प गर्नुपर्छ । नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा चुनावको प्रक्रिया प्रारम्भ गर्नुपर्छ । समावेशी प्रतिनिधित्वका लागि सम्बन्धित ‘क्लष्टर’मा चुनाव गर्नुपर्छ ।'

उपमहासचिव शर्माले अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एकतिहाईले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्नेमा जोड दिनुभयो । 'पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरी सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ', उहाँले भन्नुभयो । 

पार्टीलाई पूर्णतः डिजिटल बनाइनुपर्ने, डिजिटल पुस्तालाई पार्टीमा भर्ती गर्नेमा पनि जोड दिँदै उहाँले उत्तराधिकारीको लामबन्दी तयार गर्नुपर्ने बताउनुभयो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today