इन्डोनेसियाको अति–रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिंगीलाई एउटै सवारीसाधनमा बस्न नपाइने आदेश जारी गरेका छन्।
पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका विपरीत लिंगीलाई सवारीसाधन र सार्वजनिक स्थानमा अलग्गै बस्न आदेश दिएका हुन्। स्थानीय सरकारले उक्त आदेश कडाइका साथ कार्यान्वयन गरिने बताउँदै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ।
एकान्त, सार्वजनिक र सवारीसाधानमा विवाह नगरेका नारीपुरुष बस्न नपाइने परिपत्र गत साता जारी गरिएको हो। दैनिक जीवनमा इस्लामिक मूल्यमान्यता पालन गराउने प्रयासस्वरूप उक्त आदेश जारी गरिएको आचे सरकारका प्रवक्ता मुहम्मद एमटिएले बताएका छन्।
इस्लामिक धर्मगुरुहरूसँगको परामर्शपछि उक्त आदेश जारी गरिएको उनले स्पष्ट गरेका छन्। सुमात्रा टापुको उत्तरी छेउमा अवस्थित आचे इस्लामिक कानुन लागू गर्ने विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुस्लिम बहुल देशको एक मात्र प्रान्त हो।
व्यापक आलोचनाको बाबजुद उक्त आदेश कार्यान्वयनको प्रयास भएको छ। जकार्ताले दिएको व्यापक स्वायत्तताअन्तर्गत सरिया कानुन भएको आचेमा जुवा खेल्ने, मदिरा सेवन गर्ने र विवाहबाहिर पनि सम्बन्ध राख्नेलगायतका अपराधमा सार्वजनिक रूपमा कोर्रा हानिन्छ।